नेपालगन्ज ४ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु गर्ने भएको छ । मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । वि.सं. २०६१ देखि ०६६ सालसम्म जन्मिएकाहरुले खोप लगाउन सक्ने छन् ।
आजदेखि सुरु हुने खोप अभियान १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार यसअघि फाइजर खोप सञ्चालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन हुनेछ । उनले यी जिल्लाहरुमा फाइजर खोप आएपछि खोप लगाइने बताए ।
यसैबीच, १२ वर्ष माथिका दीर्घ रोगहीरुलाई पनि खोप दिइने छ । यसअघि फाइजर खोप सञ्चालन भएका १९ र सिन्धुलीसहित २० जिल्लामा यो खोप कार्यक्रम सञ्चलन गरिनेछ ।