नेपालगन्ज ५ पुष :कोरोना भाइरस संक्रमण र नियमित रक्तदाताहरुले रगतदान नगर्दा बाँकेमा देखिएको रगत अभाव टरेकोछ । पछिल्लो समय बाँकेमा रक्तदाता स्वयम्सेवकको सङ्ख्या बढ्दै जानु र नियमित रक्तदानको कार्यक्रम गर्ने संघसस्थाहरुले यसप्रति चासो दिन थालेपछि रगतको अभाव टरेको हो ।
‘हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेकाले अहिले अभाव पनि टरेको छ’, क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले भने ।
उनका अनुसार केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयम्सेवकको रहेको छ । रेडक्रसको नेपालगन्जस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्र र कोहलपुर रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलब्ध गराउँदै आएको छ ।
अस्पतालमा बिरामीको चाप अत्यधिक कम भएका कारण रगतको माग पनि घटेको रेग्मीले सुनाए । यसैगरी रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको सङ्ख्या अझ बृद्धि गर्न रेडक्रसले प्रचारमुखी अभियान पनि सञ्चालन गर्दै आएको छ ।
जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको जनाइएको छ ।
स्वयम्सेवक रक्तदाताका अलावा जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेशागत सङ्घ, सङ्गठनले समय–समयमा गर्ने रक्तदानले रगतको अभाव हुननदिन ठूलो सहयोग पुर्याएका छन् ।
रेडक्रस बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाका अनुसार केन्द्रद्वारा सङ्कलित रगतमध्ये सबैभन्दा बढी रगत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा प्रयोग हुने गरेको छ ।
यसका अलावा अन्यत्र अस्पतालमा उपचाररत विरामीका लागि पनि यहाँबाट रगत लिएर कतिपय विरामीका आफन्त जाने गरेको समेत केन्द्रले जनाएकोछ । रगतको जोखिम भएका विरामी उपचारका लागि रिफर हुँदा यहीबाटै रगतको जोहो गरेर लिएर जाने गरेका छन् ।