बाँकेमा एक लाख ४१ हजार ६७४ जना खोपको पहुँचदेखि बाहिर


बाँकेमा एक लाख ४१ हजार ६७४ जना खोपको पहुँचदेखि बाहिर

नेपालगन्ज ६ पुष : बाँकेमा एक लाख ४१ हजार ६७४ जना खोपको पहुँचदेखि बाहिर रहेको पाइएकोछ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा कुल ६ लाख १९ हजार ३३७ जनसंख्या रहेकोमा एक लाख ४१ हजार ६७४ जना खोपको पहुँचदेखि बाहिर रहेका हुन् ।

स्वास्थ्य कार्यालयले आयोजना गरेको कोभिड–१९ खोप सम्बन्धी जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा कार्यशाला गोष्ठीमा उक्त कुरा जानकारी गराइएको हो । यस्तै हालसम्म बाँकेमा करिब दुई लाखले कोरोना विरुद्धको विभिन्न खोपको मात्रा पूरा गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकलपर्शन नरेश श्रेष्ठका अनुसार एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको मात्रा पूरा गरेका हुन् । उनीहरुले कोरोना विरुद्धको कोभिशिल्ड, एक्स्ट्राजेनेका, भेरोसेल, जनसन र फाइजर खोप लगाएका हुन् ।

खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका चार लाख छ हजार एक सय ६५ जनामध्ये ४८.६ प्रतिशतले खोपको दोस्रो मात्रा पूरा गरे । पहिलो डोज लगाउनेको संख्या भने दुई लाख ६४ हजार चार सय ९१ छ । यो हिसाबले हेर्दा ६५.१ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।

यस्तै स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा पहिलो खोप लगाएका २५ प्रतिशतले दोस्रो खोप लगाएका छैनन् । अर्थात बाँकेमा यही मंसिर २९ गतेसम्म कोरोना भाइरस विरुद्धको खोप लगाएका मध्ये २५ प्रतिशत ‘ड्रपआउट’ देखिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेका खोप कार्यक्रमका फोकल पर्शन श्रेष्ठका अनुसार कोरोना विरुद्धको कुनैपनि खोप नलगाएका व्यक्तिहरुलाई खोपको पहुँचमा ल्याउन जिल्लाका आठवटै पालिकाहरुमा शनिबार बाहेक सबैदिन नियमित खोप लगाउने अभियान जारी रहेको छ ।

बाँकेमा गत माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार जिल्लामा ३१.९ प्रतिशतले कोरोनाको दोस्रो डोज लगाएका छन् ।

खोपको कभरेज बढाउने काम भइरहेको बताउँदै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहले भने –‘पछिल्लो समयमा बाँकेमा सबै पालिकाबाट दैनिक खोप दिने काम भइरहेको छ । केही समयपछि बालबालिकालाई अन्य खोपसँगै कोरोनाको खोप पनि दिइने तयारी भइरहेकोछ ।’

कोरोना महामारीको जोखिम कायमै रहेकाले खोप लगाउन लक्षित समूहलाई आग्रह गर्दै शाहले भने–‘हामीसंग बाँकेबासीका लागि पुग्ने प्रसस्त खोप छ । खोपको अभाव छैन तर, खोप लगाउनबाट बञ्चित भएकालाई आफू अनुकुलका पालिकामा रहेको खोप केन्द्रमा पुगी खोप लगाउनुहोस् ।’

स्वास्थ्य प्रमुख शाहले पहुँच नपुगेको बस्ती, जाति तथा वर्ग विशेष पहिचान गरि कोभिड–१९ विरुद्धको खोप सेवाबाट पूर्ण खोप स्थानीय तह बनाउनका लागि स्वास्थ्य कार्यालय अग्रसर रहेको बताए । जिल्लाका आठवटै पालिकाका स्वास्थ्य शाखा, खोपसँग सम्बन्धित सरोकारवाला निकाय लगायतसँग गरिएको उक्त समिक्षा गोष्ठि दुईदिन चल्नेछ ।