नेपालगन्ज ८ पुष : सरकारले आगामी पुष अन्तिम सातादेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाउने भएकोछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिए पुष अन्तिमदेखि बुस्टर डोज दिने गरी सरकारले तयारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अनुमति पाएको खण्डमा छिट्टै बुस्टर डोज दिन सरकार तयारी अवस्थामा रहेको बताएका छन् । उनले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र विस्तारै बृद्धबृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने बताए ।
केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले आधा जनसंख्यालाई दुबै डोज खोप दिएपछि बुस्टर डोज दिन सकिने सुझाव दिएको थियो । नेपालमा स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले दुबै डोज लगाएको समय एक वर्ष पुग्न लागेकाले पनि बुस्टर डोजको आवश्यकता परेको विज्ञहरुको भनाइ छ ।
सरकारले बुस्टर डोज सहित नियमित खोप कार्यक्रम पनि तीव्र रुपमा अगाडि बढाउने जनाएको छ । पछिल्लो समय सरकारले १८ वर्ष र माथि उमेर समूहका लागि कोभिशिल्ड र भेरोसेल खोप र १८ वर्ष मुनिका उमेर समूह (१२–१७) का लागि फाइजर र मोडर्ना खोप लगाउँदै आएको छ ।
मन्त्री खतिवडाले १२ देखि १७ वर्षका बालबालिकालाई आफू अध्यन गर्ने वा आफूलाई नजिक पर्ने विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरे । ‘ओमिक्रोन’ भेरियन्टलाई फैलन नदिन सरकारले विभिन्न सुरक्षात्मक उपाय कार्यान्वयनमा ल्याएको उनले बताए ।
यसअघि सरकारले दक्षिण अफ्रिकालगायत विभिन्न नौ देशबाट मङ्सिर १६ गते राति १२ बजेदेखि नेपाल प्रवेश अनुमति नदिने निर्णय गरेको छ ।
यस्तै अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुका थप नमूना सङ्कलन गरी जीन सिक्वन्सिङ गर्ने गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लोपटक बाँकेको नेपालगन्ज स्थित नेपाल–भारत सीमानाका जमुनाह भएर नेपाल आएका ३ जना नागरिकमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको आशंका गरिएकोछ । संक्रमित ती तीनै जनाको स्वाब जीन सिक्वसिङका लागि यही हप्ता काठमाण्डौं पठाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ ।