साढे ९४ लाखले कोरोना विरुद्धको पूर्ण खोप लगाए


साढे ९४ लाखले कोरोना विरुद्धको पूर्ण खोप लगाए

नेपालगन्ज ११ पुष : कोरोना भाइरस विरुद्धको खोप अभियान अन्र्तगत हालसम्म नेपालमा साढे ९४ लाख जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको एक वर्षको अवधिमा नेपालमा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना खोप प्रयोग गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा दुई करोड १२ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । तीमध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको संख्या ९४ लाख ५० हजार रहेको छ ।

नेपालमा गत माघदेखि खोप लगाउन थालिएको हो । १८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि र १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान शुरु गरिएको छ ।

नेपालमा हालसम्म तीन करोड ३२ लाख ९० हजार ३३० मात्रा खोप आइसकेको मन्त्रालयको तथ्यांक छ । नेपाल सरकारले एक करोड २० लाख खोप खरिद गरेको र बाँकी खोप कोभ्याक्स सुविधा, विभिन्न मुलुकबाट सहयोगका रूपमा प्राप्त भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

विभिन्न स्थानमा रहेको खोप भण्डारमा करिब ६८ लाख खोप सुरक्षित रहेको बताइएको छ । यही पुस महिनासम्म १८ वर्षभन्दा माथिको ६६ प्रतिशत जनसङ्ख्या र चैत महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्यसाथ सरकारले काम गरिरहेको छ ।

प्रदेशहरूमा खोप अभियानको अवस्था हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा बढी खोप लगाइएको देखिएको छ । बागमती प्रदेशमा पहिलो खोप लगाउनेको जनसंख्या ७५ प्रतिशत रहेको छ भने दुवै मात्राको खोप लगाउने ६१ प्रतिशत छ ।

सबैभन्दा कम खोप लगाउने प्रदेश २ मा छन् । मन्त्रालयका अनुसार सो प्रदेशमा पहिलो खोप लगाउने ३९ प्रतिशत छ भने दुवै खोप लगाउने २४ प्रतिशतमात्र छ ।