बारबर्दियामा १ सय ४ जना सिकलसेल विरामी


बारबर्दियामा १ सय ४ जना सिकलसेल विरामी

नेपालगन्ज : थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखा परेको सिकलसेल एनिमिया रोग पहिचान, नियन्त्रणका लागि नगरपालिकाले तदारुक्ता देखाएकोछ ।

बार्दियाको बारबर्दिया नगरपालिकाले सिकलसेल एनिमियाको रोग रोकथामका लागि अभियानको घोषणा गरेको छ । उपप्रधान मन्त्री एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सम्मलित एक कार्यक्रममा सो कार्यक्रमको घोषणा गरिएको हो ।

मन्त्री यादवले सिकलसेल र थाल्सेमियाको समस्या समाधान गर्न जिल्लामा ल्याब स्थापना गरी उपचार सेवा प्रदान गर्न बजेट विनियोजन समेत गरिने बताए । सो अवसरमा नेपाल स्वास्थ्य अनुसंधान परिषद्ले १० हजार ६ सय ७० घरधुरीका १ देखि २९ वर्ष उमेर समुहका २० हजार ११ जनाको रक्त संकलन गरी परीक्षण गरेको जनाएकोछ । उक्त तथ्यांकका आधारमा १ हजार ६ सय ९८ जनामा सिकल सेल रोग बाहक र १ सय ४ जनामा सिकलसेल रोग रहेको पाइएको हो ।

बारबर्दिया नगरपालिकाका अध्यक्ष दुर्गाबहादुर थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिकलसेल एनिमिया रोगको बारेमा अध्ययन गर्ने भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, नेपालगन्ज मेडिकल कलेजकी बरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा बोरा, नेपाल स्वास्थ्य अनुसंधान परिषद्का डा. अञ्जनी झा, डा. श्याम बिक तथा पत्रकार कमल पन्थी, रुद्र सुवेदी, विश्वराज पछलडंग्या, कृष्ण अधिकारी, यदव आचार्यलगायतका सञ्चारकर्मीहरुलाई सम्मान समेत गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बारबर्दिया नगरपालिकाले समुदायमा सिकलसेल एनिमियाका बारेमा जनचेतना फैलाउन कक्षा ९–१० को समाजिक विषयमा पाठ्यक्रम तयार गरी पढाउनुको साथै विभिन्न खालका गतिविधि सञ्चालन गर्दै आएको छ । सो कार्यक्रममा बर्दिया क्षेत्र नम्बर १ का सांसद सञ्जय गौतम, पाँच नम्बर प्रदेस सांसद कृष्णा केसी नमुना, तिलकराम शर्मा, ठाकुरबाबा नगरपालिकाका मेयर धननाथ श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।