खजुरा क्यान्सर अस्पतालका विरामीलाई अण्डा वितरण


खजुरा क्यान्सर अस्पतालका विरामीलाई अण्डा वितरण

प्रकृति थापा

नेपालगन्ज १७ पुष : बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका विरामीलाई अण्डा वितरण गरिएकोछ ।

नवौ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा कुखुरा विकास फार्म खजुरा बाँकेले क्यान्सर अस्पतालमा उपचाररत विरामीलाई अण्डा वितरण गरेको हो । अस्पतालमा उपचाररत ३० जना विरामी र ७ जना गर्भवती महिलाहरुलाई ४ सय ५० गोटा अण्डा वितरण गरिएको छ ।

कार्यक्रममा कुखुरा विकास फार्म खजुराका प्रमुख डाक्टर शंकर न्यौपानेले अण्डामा प्रयाप्त मात्रामा प्रोटिन पाईने भएकोले सुत्केरी र गर्भवतीले अण्डा खाएमा कुपोषणबाट बच्न सकिने बताए । खाद्य तथा पोषण सुरक्षाका दृष्टिकोणले समेत विरामी, सुत्केरी र गर्भवतीले नियमित अण्डा सेवन गर्नुपर्छ भन्ने सन्देश दिन अण्डा वितरण गरिएको डाक्टर न्यौपानेको भनाई थियो ।

Kanti Aarogya Hospital Nepalgunj

एक दिन होइन हरेक दिन, अण्डा र मासु भान्साको शान, सर्वोतम प्रोटिन स्वस्थ जीवन भन्ने नाराका साथ फार्मले दिवसको अवसरमा अण्डाको महत्व बुझाउने र यसको प्रयोग बढाउने उद्देश्यले निःशुल्क रुपमा अण्डा वितरण गरेको जनाएको छ ।

अण्डा वितरण कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपती, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष भक्त बहादुर केसी र निर्देशक कृष्ण आचार्यले अस्पतालका विरामी, सुत्केरी र गर्भवतीलाई अण्डा वितरण गरेका थिए ।