ओमिक्रोन फैलन नदिन विभागको निर्देशन, ‘तेस्रो लहर जटिल बन्न सक्छ’


ओमिक्रोन फैलन नदिन विभागको निर्देशन, ‘तेस्रो लहर जटिल बन्न सक्छ’

नेपालगन्ज १८ पुषः कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो संक्रमणलाई लिएर स्वास्थ्य सेवा विभागले उच्च सर्तकता अपनाउन निर्देशन दिएकोछ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन भन्दै विभागले आईतबार देशैभरीका स्थानीय र प्रदेश सरकारलाई निर्देशन समेत दिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो । कोभिड महामारीको जोखिम कायमै रहेकाले संक्रमितको संख्या थप बढ्न नदिन पूर्व तयारी आवश्यक रहेको महाशाखाले जनाएको छ ।

हालसम्म नेपालमा तीन जनामा मात्र ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भइसकेकोछ । तर, नेपालमा कोरोनाको तेस्रो लहरमा देखा पर्ने पूर्व संकेत देखिसकेकोले उच्च सर्तकता अपनाउन आग्रह गर्दै यस्तो निर्देशन दिएको हो ।
कोरोना भाइरस संक्रमणको तेस्रो लहर नेपालमा आगामी माघ दोस्रो हप्तादेखि आउनसक्ने देखिएकाले देशैभरीका स्थानीय र प्रदेश सरकारलाई निर्देशन समेत दिइएको हो ।

नेपालमा कोरोनाको दोस्रो लहर उच्च विन्दुमा पुगेको बेला भन्दा बढी संक्रमित हुन सक्ने र अवस्था झन जटिल बन्न सक्ने स्वास्थ्य विज्ञहरुले प्रक्षेपण गरिरहेकाछन् । दोस्रो लहरका बेला नेपालमा एकैदिन ९ हजार २ सय संक्रमित थपिएका थिए, जसका कारण अस्पतालहरुमा वेड र अक्सिजनसमेत अभाव भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराउन, कोरोना परीक्षणको दायरा बढाउन, पहिचान भएका संक्रमितहरुको उचित व्यवस्थापन गर्न महाशाखाको निर्देशन छ ।

यस्तै, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टिन तथा परीक्षण गर्न, सीमा नाकामा प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।

एकातिर पछिल्लो समय भारतमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण ह्वात्तै बढ्दै गएकाले समयमै सावधानी अपनाउन नसके अवस्था जटिल बन्न सक्ने विज्ञहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् ।