नेपालगन्ज : बिहीबार राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिने विषयमा नेपालगन्ज उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठक बोलाईएको थियो । सोही बैठकमा पुष २७ अर्थात् शुक्रबार सार्वजनिक विदा दिने प्रस्ताव
गरियो ।
धेरैको माग बमोजिम कार्यपालिकामा भएको प्रस्तावमा सुरुदेखि नै काँग्रेस र संघीय समाजवादी फोरमका सदस्यहरुले सहमति जनाएको भएपनि सार्वजनिक विदा दिन नहुने पक्षमा नेकपाका सदस्यहरु दरिलो रुपमा प्रस्तुत भएका थिए । सहमतिबाटै विदा पारित गर्ने प्रयास गरिएको भएपनि नेकपाका सदस्यहरु कुनैपनि हालतमा पृथ्वी जयन्तीमा विदा दिन नहुने पक्षमा देखिएपछि नगरकार्य समितिको बैठकले बहुमतद्वारा विदा दिने निर्णय गरेको हो ।
केन्द्रमा समेत सरकारको नेतृत्व गरिरहेको नेकपाले केन्द्रमा विदा नदिएपछि नेकपाप्रति धेरै आक्रोशित बनिरहेको बेलामा नेपालगन्जमा उनीहरुले राष्ट्र निर्माताप्रति नै अपमान हुने गरी विदा प्रस्तावमा चर्काे विरोध गरेका हुन् । नेकपाका नेताहरु केन्द्रमा पनि पृथ्वीनारायण शाहको सम्मानबारे खुलेर बोल्न पनि सक्दैनन् । नेपालगन्जमा कूल ३३ सदस्यीय नगर कार्यपालिका बोर्डमा नेकपाका सबैभन्दा बढी १२ जना सदस्य छन् । यसैगरी २३ वडामध्ये सबैभन्दा बढी नेकपाले १० वडा जितेको छ ।
त्यसो त यसरी बहुमतद्वारा गरिएको निर्णय पनि नेकपाले शुक्रबार मानेको छैन् । नेकपाले जितेको सबै वडाहरुमा शुक्रबार नियमित कामकाज गरिएको छ । ती सदस्यहरुले विदा दिने निर्णयमा नोट अफ डिसेन्ट समेत लेखेर पृथ्वी जयन्तीमा पृथ्वीनारायण शाहमाथि अपमान गरेको एकतर्फीको बुझाई छ । गत वर्ष नेपाली का“ग्रेस नेतृत्वको सरकारले स्वीकृत गरेको राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदालाई वर्तमान नेपाल कम्युनिस्ट पार्टीको सरकारले हटाएको छ ।
हालै १३ दिन सार्वजनिक बिदा थप गर्ने क्याबिनेट कमिटीको सिफारिसमा पनि राष्ट्रिय एकता दिवसजस्तो गरिमामय तथा महत्वपूर्ण पर्वलाई उपेक्षा गरिएको छ । यसले ‘राष्ट्रवादी’ नकाब लगाएको सरकारको राष्ट्रवादिता नांगिएको जानकारहरू बताउँछन् । यो समग्र नेपालीको भावना र पहिचान उपरको प्रहारमात्र होइन, राष्ट्रिय एकता र सम्मानमाथि नै प्रहार हो । यस्तो कार्यलाई सरकारले तुरुन्त सच्याउन आवश्यक छ । पृथ्वीनारायण राजाभन्दा बढी राष्ट्रनिर्माता हुन् भन्ने विषयलाई राजतन्त्रसँग जोडेर हेर्नु गल्ती हुने राप्रपा नेपाल बाँकका नेता ऋषिराज देवकोटा बताउँछन् । पृथ्वी जयन्ती जस्तो महत्वपूर्ण पर्वको उपेक्षा समग्र नेपालीको भावना र पहिचानमाथि मात्र नभई राष्ट्रिय एकता र सम्मान माथिकै प्रहार भएको सामान्य नागरिक गणेश खड्का बताउँछन् ।
काँग्रेस र संघीय समाजवादी फोरमको समर्थनमा बहुमतका आधारमा नगर प्रमुख डाक्टर धवल शम्सेर राणाले शुक्रबार स्थानीय विदा दिने निर्णय गराएका हुन् । उपमहानगरपालिकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा विदा दिने भनि गरेको निर्णयका बिरूद्ध जान नेकपाको जिल्ला तहबाटै दबाब र उर्दि आएको स्रोतले खुलासा गरेको छ । नेकपाको जिल्ला नेतृत्वबाट यस्तो उर्दि आएपछि सो पार्टी निकट जनप्रतिनिधी उक्त निर्णयका बिरूद्ध जान बाध्य भएको एक वडाध्यक्षले नै नाम नछाप्ने शर्तमा बताए । तर, वडा कार्यालय खुलेकै कारण आम नागरिकले शुक्रबार पनि सेवा सुविधा लिएका छन् ।