नेपालगन्ज २० पुष : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा अझैं चिसो बढ्ने जनाएकोछ ।
आज मंगलवार रातीदेखि पश्चिमी नेपालबाट प्रबेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबारदेखि शनिबारसम्म देशको सुदुर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आँशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकोछ ।
आगामी आईतबारदेखि यो प्रणाली कमजोर हुँदै जाने र मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको भन्दै महाशाखाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाबबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेकोछ ।
महाशाखाका अनुसार आगामी शनिबारसम्म यो प्रणाली देशभर फैलिएर बिशेष गरी सुदूर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ । साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरि सुदूर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले मङ्गलबार जारी मौसमि बुलेटिनमा उल्लेखछ ।