चिसोबाट बचाउन चोक–चोकमा निःशुल्क दाउरा वितरण


चिसोबाट बचाउन चोक–चोकमा निःशुल्क दाउरा वितरण

नेपालगन्ज २१ पुषः अत्याधिक जाडो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले नगरका मुख्य चोकहरुमा आगो ताप्ने ब्यवस्था गरेको छ । मंगलबार साँझ त्रिभुवन चोकबाट यसको सुरुवात गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा, प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारी लगायतको उपस्थितीमा नेपालगन्जका मुख्य चोकमा आगो ताप्ने ब्यवस्था गरिएको हो ।

आगो ताप्नका लागि ड्रमसहित मुख्य चोकहरुमा सुरक्षितरुपमा दाउरा बाल्ने ब्यवस्था गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार मंगलबार ५० वटा ड्रमसहित चोकहरुमा दाउरा सहित आगो ताप्ने ब्यवस्था मिलाइएको छ ।

सुवेदीका अनुसार आजदेखि आवश्यक नगरका थप स्थानमा समेत आगो ताप्ने ब्यवस्था मिलाइने छ । अत्याधिक चिसो र शितलहर भएपछि नगरबासीलाई राहत पुगोस् भन्ने उद्देश्यले मुख्य चोकहरुमा दाउरा वितरण सहित आगो ताप्ने ब्यवस्था गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

जाडो अवधीभर आगो ताप्ने ब्यवस्था मिलाइने जानकारी दिदै सुवेदीले विपन्न समुदायका लागि थप राहत र सहयोगका कार्यक्रम सञ्चालन गरिने बताए । प्रमुख जिल्ला अधिकारी खत्रीले शितलहरबाट नागरिकलाई प्रभावित हुन नदिन स्थानीय तहले गर्ने प्रयासमा सहयोग र समन्वय प्रशासनका तर्फबाट हुने बताए ।