नेपालगन्ज २३ पुष : नेपालमा कोरोना भइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो केही दिन यता संक्रमित थपिने क्रम बढ्न थालेसंगै नेपालमा तेस्रो लहर शुरु भएको संकेत गरिएकोछ । छिमेकी देश भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ । निकै सङ्क्रामक भनिएको ‘ओमिक्रोन’ भेरियन्ट नेपालमा समेत पुष्टि भइसकेको छ ।
पछिल्लो ५ दिनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा नेपालमा कोरोनाको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । यो हप्ताको सुरुवातमा सङ्क्रमण दर साढे २ प्रतिशतको हाराहारीमा रहेकोमा बिहीबार यो बढेर ५ प्रतिशत नजिक पुगेको छ ।
पुस २२ गते १२ हजार ९९ परीक्षण गर्दा ५४० जनामा सङ्क्रमण पुष्टि भएको छ । सो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३१ रहेको छ । त्यसैगरी पुस २१ गते १० हजार २६७ जनाको परीक्षण गर्दा ४३५ जनामा कोरोना पुष्टि भएको थियो । सोही दिन सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २२५ थियो ।
यसैगरि पुस २० गते ९ हजार ३२९ जनाको परीक्षणमा ३९३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार पुस २० गतेको सङ्क्रमित सङ्ख्या ५ हजार ९४ छ । यता पुस १९ गते १२ हजार ४९८ जनाको परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । १९ गते ५ हजार ५ जना सक्रिय सङ्क्रमित रहेका थिए ।
त्यसैगरि पुस १८ गते ७ हजार ६३१ जनाको परीक्षण गर्दा २१६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त दिन ४ हजार ९७१ जना सक्रिय सङ्क्रमित रहेका थिए । बितेको ५ दिनमा सङ्क्रमण दर १.६३ प्रतिशतले बढेको पाइएको छ । यो तथ्यांकअनुसार आगामी दिनमा सङ्क्रमण दर बढ्न सक्ने देखिएको छ ।
यसैगरि मन्त्रालयका अनुसार भारतसँग सीमा जोडिएका नाकामा रहेका हेल्थ डेस्कमा गरिएको एन्टीजीन परीक्षणमा समेत कोरोना संक्रमित फेला पर्ने क्रम बढ्दै गएको छ । मन्त्रालयको तथ्यांक अनुसार सीमा नाकामा गरिएको एन्टीजीन परीक्षणमा १९ गते सोमबार ५ जनामा संक्रमण भेटिएको थियो । २० गते मंगलबार उक्त संख्या बढेर ३८ मा पुगेको थियो । पुष २१ गते ४८ जनामा संक्रमण फेला परेको मन्त्रालयको तथ्यांकले देखाएको छ।
मन्त्रालयले सीमा नाकामा फेला परेका संक्रमितको जीन स्वीक्वेन्सिङ गर्दै कुन भेरियन्टको संक्रमण हो भनेर पत्ता लगाउने काम पनि अगाडि बढाएको जनाएको छ । क्रमशः कोरोना संक्रमण बढ्नुको मुख्य कारण अफ्रिकाबाट शुरु भएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हुनसक्ने विज्ञहरुको अनुमान छ ।
औपचारिक रुपमा नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । पहिलो पटक मंसिर २० गते दुई जनामा कोरोनाको नयाँ भेरियन्ट अमिक्रोन संक्रमण भएको थियो । उनीहरु ३ मंसिरमा हवाइ मार्ग हुँदै नेपाल आएका थिए, तर ओमिक्रोन संक्रमण पुष्टि हुँदा १९ मंसिर भइसकेको थियो । ७ पुसमा तेस्रो व्यक्तिमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भयो । तर ‘एस जिन नेगेटिभ’को संख्या बढ्नुले ओमिक्रोन संक्रमित बढ्दै गएको अनुमान गर्न सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।
अल्फा भेरियन्ट पुष्टि भएको केही नमुनामा पनि एस जिन नेगेटिभ आएको छ । हालसम्म डेल्टा भेरियन्टमा एस जिन नेगेटिभ आएको छैन । पछिल्ला दिनमा भएका जिन सिक्वेन्सिङका नजिताअनुसार नेपालमा अल्फा भेरियन्ट भेटिएको छैन, डेल्टा मात्र भेटिएको छ । त्यसैले एस जिन नेगेटिभ देखिएर जिन सिक्वेन्सिङ भइरहेको नमुनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनसक्ने स्वाथ्य मन्त्रालयका अधिकारीहरुको आंकलन छ ।
यसैबीच, नेपाल–भारत सीमा नाका जमुनाह भएर नेपाल आएका २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । नेपालगन्ज नाकाको हेल्थ डेस्कका अनुसार बिहीबार भारतबाट नेपाल आएका २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संख्या पछिल्लो १० महिनाकै धेरै हो ।
भारतका विभिन्न सहरबाट आएका ५ सय २६ जनाको एन्टिजेन जाँच गर्दा २७ जनामा कोरोनापुष्टि भएको हो । जसमा बाँके, दाङ, सल्यान, सुर्खेत, दैलेख, रुकुम, अछामका मानिस भारतका दल्ली, चण्डीगढ, चेन्नाई, हैदरावाद तथा गोवा लगायतका स्थानबाट आएका हुन् ।