तुलसीपुरका विद्यालयमा फैलियो कोरोना, माघ ३ गतेसम्मका लागि सबै विद्यालय बन्द


तुलसीपुरका विद्यालयमा फैलियो कोरोना, माघ ३ गतेसम्मका लागि सबै विद्यालय बन्द

नेपालगन्ज २३ पुष : दाङ तुलसीपुर उपमहानगरपालिकाका २६ जना शिक्षक तथा विद्यार्थीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि माघ ३ गतेसम्मका लागि उपमहानगरका सबै विद्यालय बन्द गरिएकोछ । शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा आगामी माघ ३ गतेसम्म पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको हो ।

तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि पुष २४ गते आईतबारदेखी माघ ३ गतेसम्म ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएकोछ ।

दाङमा बुधबार मात्रै एकैदिन ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती मध्ये २६ शिक्षक तथा विद्यार्थी रहेका छन् । हिजो मात्रै सेन्टर मावि तुलसीपुरका शिक्षक र विद्यार्थी गरी १५ जना तथा गुरुजजुर मावि तुलसीपुरका ११ शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्थानीय स्रोत व्यक्ति विमल केसीका अनुसार हिजो २५ महिला र २० पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेमा १३ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् । एक सय ४२ जनाको स्वाब परीक्षण गर्दा ४५ मा कोरोना पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

योसँगै तुलसीपुरमा पछिल्लो चार दिनयता ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरूलाई ओमिक्रोन सङ्क्रमण भएको हो वा होइन भनी परीक्षणका लागि टेकुमा स्वाब सङ्कलन गरी पठाइएको छ । कोरोना देखिएपछि गुरुजजुर मावि पुष २७ गतेसम्मका लागि बन्द गरिएको छ ।

बिहीबार थप दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा सङ्क्रमण पुष्टि भएसँगै पाँच वटा विद्यालयमा कोरोनाको सङ्क्रमण देखिएको छ । यसअघि तुलसीपुर–८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता संस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो ।

केसीका अनुसार अस्वारामा तीन सुस्तश्रवण विद्यार्थी, छ अन्य विद्यार्थी तथा पाँच शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै राप्ती बाल एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविले पनि एक हप्ताका लागि विद्यालय बन्द गरेको छ ।