शेर बहादुर रौले
डुडुवा (बाँके) २३ पुष : डुडुवा गाउँपालिका वडा नम्बर–२ स्थित बेतहानी स्वास्थ्य चौकी भवन निमार्णका लागि जग्गादाताको नवनिर्मित प्रतिमाको अनावरण गरिएको छ ।
वडा नम्बर–२ बेतहानी निवासी भुतपुर्व प्रधान स्वर्गीय विष्णु प्रसाद चौधरी र श्रीमती लिलावती चौधरीले स्वास्थ्य चौकी भवन निमार्णका लागि २०६५ सालमा सात कठ्ठा जग्गा दान गरेका थिए । जग्गा प्राप्त भएपछि नेपाल सरकारले आर्थिक वर्ष २०७३/०७४ मा सुविधा सम्पन्न भवन निमार्ण गरेको थियो ।
गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले आज शुक्रबार एक कार्यक्रमकाविच जग्गादाताको प्रतिमा अनावरण गर्दै उनले स्वास्थ्य जस्तो सम्बेदनशील सेवाका लागि गरेको महादानी जग्गादाताको सम्मानका लागि प्रतिमा स्थापना गरेको बताए । उनले यो लाखौँ मूल्य पर्ने ठुलो दानले यस क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा लिनबाट सहयोग पुगेको भन्दै समाजसेवा गर्नेहरुको सम्झनाका लागि पनि हामीले सधै सम्मान गर्न सिक्नुपर्ने कुरा उल्लेख गरे ।
त्यस अवसरमा जग्गदाताका परिवारलाई सम्मान पनि गरिएको थियो । जग्गादाताका छोराद्वय ओम प्रकाश चौधरी र शिवकुमार चौधरी तथा बुहारी सुरतादेबी चौधरीलाई अध्यक्ष चौधरीले फुल माला लगाएर सम्मान गरे ।
स्वास्थ्य चौकी निमार्ण भएपछि डुडुवाका वडा नम्बर १,२ र ३ क्रमश होलिया, बेतहनी र बनकट्टी लगायत आसपास गाउँका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । बेतहानी स्वास्थ्य चौकीमा अहिले जेष्ठ नागरिक सहायता उपचार केन्द्र, निःशुल्क प्रयोगशाला, औषधी भण्डारण, एम्बुलेन्स परिचालनको सेवा उपलब्ध रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।