File Photo
नेपालगन्ज २४ पुषः कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको छिमेकी देश भारतबाट नेपाल आउनेहरुमा कोरोना संक्रमण धेरै देखिन थालेकोछ ।
नेपालगन्ज स्थित नेपाल–भारत सीमा नाका जमुनाहा भएर नेपाल आउनेमा कोरोना संक्रमण पछिल्ला दिन भन्दा बढ्दो क्रममा रहेकोछ । जमुनाह नाका भएर आएकामध्ये शनिबार एकैपटक ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बिहीबार र शुक्रबारको संक्रमित आँकडा भन्दा धेरै हो ।
बिहीबार मात्रै जमुनाह नाका भएर आएका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने शुक्रबार ३७ जनामा कोरोना संक्रमण पाइएको थियो ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शनिबार भारतका विभिन्न राज्यबाट आएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजिन विधिबाट सात सय ६६ जनामा कोरोना परीक्षण गराउँदा ४६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये १४ जना महिला र ३२ जना पुरुष रहेका छन् ।
सोमबार यता भारतबाट आएका एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई बालमन्दिरको आइसोलेसन सेन्टरमा राखिएको छ ।
ओमिक्रोन प्रभावित भारतका विभिन्न राज्यबाट स्वदेश फर्किरहेका नेपालीहरुमा भाइरस संक्रमण बढी देखिएको छ । उनीहरुमा सामान्य रुघाखोकीको लक्षण देखिएको छ । आइसोलेसनमा राखिएका उनीहरुलाई आ–आफ्नो जिल्लामा पठाउनेगरी समन्वयको काम भइरहेको पनि ओलीले बताए ।