आवश्यकता हेरेर लकडाउन गर्ने पक्षमा सरकार : स्वास्थ्यमन्त्री


आवश्यकता हेरेर लकडाउन गर्ने पक्षमा सरकार : स्वास्थ्यमन्त्री

नेपालगन्ज २९ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए ।

उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए ।

मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

आवश्यक्ता हेरेर खास ठाउँमा मात्रै लडकाउन हुने भन्दै उनले तत्काल लकडाउनको विषयमा आतंकित हुनु नपर्ने बताए । नागरिकलाई असजिलो पर्दा सरकार तयारीका साथ बसेको भन्दै उनले स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखेको उनले बताए ।

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे ।

मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए । माघको दोस्रो हप्तामा ६० वर्ष माथि उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरूलाई कोरोनाविरुद्ध बुस्टर डोज उपलब्ध गराउने पनि बताए ।