प्रधानमन्त्री देउवाले भने –‘कोरोना नियन्त्रणमा सबै एक हौं’


प्रधानमन्त्री देउवाले भने –‘कोरोना नियन्त्रणमा सबै एक हौं’

काठमाडौं १ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रणमा सबैलाई एकजुट भएर लाग्न आग्रह गरेकाछन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले शनिबार बिहान कोरोना नियन्त्रणको विषयमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोना नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’ प्रधानमन्त्रीदेउवाले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ।’

प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले आफूले सरकारको नेतृत्व गरेपछि कोरोनाविरुद्धको खोप लगाउने संख्या बृद्धि भएको दाबी गर्दै खोप लगाउन योग्य नागरिकलाई दुबै डोज खोप लगाउने गरी सरकार अघि बढेको बताए ।

एमाले उपाध्यक्ष सुवाश नेम्वाङ नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्रीलाई देउवालाई भेटेर कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो ।

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनबाट २७ जना संक्रमित भइसकेकाछन् । पछिल्लो पटक एकैपटक २४ जना ओमिक्रोनबाट संक्रमित भएपछि यतिबेला सरकारले उच्च सावधानी अपनाउन आग्रह गर्दै त्यसको पूर्व तयारीमा जुटेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो शुक्रबार मात्रै देशभर ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५६० जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा एक लाख १०८ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मन्त्रालयको तथ्यांक अनुसार देशभर १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।