को–को पर्छन् अग्रपंक्तिमा खटिनेमा ?
नेपालगन्ज २ माघ : सरकारले आजदेखि कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपंक्तिका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) लगाइरहेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो । सोही निर्णय अनुसार आजबाट अग्रपंक्रतिमा खटिने व्यक्तिलाई दिन लागिएको हो ।
अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार ‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।
‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिए ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन् ।
कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो । ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ । कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ ।
को-को पर्छन् अग्रपंक्तिमा खटिनेमा?
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मीहरु, शव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स चालक तथा शववहान चालक फ्रन्टलाइनरमा पर्दछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, शस्त्रको विओपीमा खटिएका, जनपथ प्रहरी, आर्मीको शव व्यवस्थापनमा खटिने, बैंकको क्यास काउन्टरमा खटिने कर्मचारी, सरकारी सेवामा अग्रपंक्तिमा खटिने कर्मचारी र स्थानीय पालिकाका जनप्रतिनिधिहरु पनि पर्दछन् ।