बाँकेमा ‘बुष्टर’ डोजप्रति देखिएन उत्साह, पहिलो दिन २१० जनाले मात्र लगाए


बाँकेमा ‘बुष्टर’ डोजप्रति देखिएन उत्साह, पहिलो दिन २१० जनाले मात्र लगाए

नेपालगन्ज २ माघ : कोरोना विरुद्धको ‘बुष्टर’ खोप लगाउन बाँकेमा पनि थालिएको छ । आईतबारदेखि बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई केन्द्र तोकेर बुष्टर खोप दिन थालियो । तर, कोरोना विरुद्धको ‘बुष्टर’ खोपमा उत्साहजनक सहभागिता पाइएन ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिई सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई बुस्टर खोप दिन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार २०७७ चैत मसान्तसम्म पहिलो मात्रा खोप लगाई समयावधि भित्र दोस्रो मात्राको खोप लगाएर ६ महिना पुगेका अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिहरुलाई आजबाट बुष्टर खोप दिन शुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकले कोभिड विरुद्धको खोपका लागि १८ वर्षमाथिका ४ लाख ६ हजार १ सय ६५ र १८ वर्षमुनिका ६९ हजार ८ सय ३६ जनालाई लक्षित गरिएको थियो । तर, कुल ३ लाख २२ हजार २ सय ४१ जनाले पहिलो डोज खोप लगाए भने २ लाख १९ हजार ५ सय ६९ जनाले दोस्रो डोज खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसरी दुबै खोपको डोज लगाएको कुल तथ्यांक ५ लाख ४१ हजार ८ सय १० हुन आउँछ । यो तथ्यांक कुल संख्याका सानो समुहले मात्र बुष्टर डोज खोप लगाएका हुन् । आईतबार मात्रै नेपालगन्ज र कोहलपुरको दुबै खोपकेन्द्रबाट कुल २१० जनाले बुष्टर डोज खोप लगाए ।

तर यही अवधिमा कोरोना भाइरस संक्रमण विरुद्धको खोपको पहिलो डोज एक हजार १० जनाले लगाए भने दोस्रो खोपको डोज २ सय १३ जनाले मात्र लगाएकाछन् । बुष्टर डोज सहित पछिल्लो २४ घण्टामा एक हजार ४ सय ३३ जनाले मात्र खोप लगाएका हुन् ।

अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, विमानस्थलमा खटिने कर्मचारी, पत्रकार लगायतलाई बुस्टर खोप लगाउन शुरु गरिएको उनले बताए ।

उनका अनुसार, २०७७ चैत्र अन्तिमसम्म कोभिसिल्ड र भेरोसेलको पहिलो डोज खोप लगाएका र समयावधि भित्र दोस्रो मात्राको खोप लगाई ६ महिना समयावधि पुगिसकेका ब्यक्तीलाई उक्त खोप दिइनेछ ।

नेपालगन्ज र कोहलपुर गरी दुई स्थानबाट बुष्टर खोप लगाउन सुरु गरिएको छ । नेपालगन्जको भेरी अस्पताल परिसर र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा खोप केन्द्र सञ्चालन गरिएको श्रेष्ठको भनाइ छ । बाँकेमा बुष्टर खोप अभियान अन्र्तगत आगामी माघ ८ गतेसम्म समयसीमा तोकिएकोछ ।