सूर्यनाथ गौतमको नाममा एक लाखको पत्रकारिता अक्षय कोष स्थापना

मुटुरोग सम्बन्धि समाचार लेख्नेलाई पुरस्कार प्रदान गरिने : महासंघ


सूर्यनाथ गौतमको नाममा एक लाखको पत्रकारिता अक्षय कोष स्थापना

नेपालगन्ज ३ माघ : नेपाल पत्रकार महासंघ बाँके शाखाले स्वर्गीय सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरष्कार अक्षय कोष स्थापना गरेकोछ । महासंघ बाँके शाखाका पूर्व सभापति समेत रहेका पत्रकार नीरज गौतमका बुवा स्वर्गीय सूर्यनाथ गौतमको नाममा स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।

स्वर्गीय सूर्यनाथकी धर्मपत्नी सुशीला गौतमले सोमबार महासंघको सभाहलमा आयोजित कार्यक्रममा कोष स्थापना गर्दै नगद एक लाख महासंघ अध्यक्ष दामोदर भण्डारीलाई प्रदान गरिन् । सूर्यनाथको मुटु रोगकै कारण निधन भएपछि श्रीमानको स्मृतिमा कोष स्थापना गरिएको श्रीमती एवम पत्रकार नीरजका आमा सुशीला गौतमले जानकारी दिइन् ।

उक्त पत्रकारिता पुरस्कार कोषको संरक्षकमा सूर्यनाथका छोरा नीरजलाई राखिएकोछ ।

कार्यक्रममा बोल्दै कोषका संरक्षक एव पत्रकारसमेत रहेका नीरजले भने–‘बुवाको स्मृतीमा समाजमा केही गर्न सक्छौं भन्दै यो प्रयास अघि सारेका हौं । महासंघले सहर्ष स्वीकारेर पवित्र र पुण्य उद्देश्य प्राप्तिमा हातेमालो गरेकोछ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

उनले भने–‘हामीले स्वास्थ्यका क्षेत्रमा थुप्रै कलम चलाएका छौं तर, मुटु सम्बन्धि समाचार कमै मात्रामा लेखेका छौं । विट अनुसार समाचार लेखन गर्न नसक्नुले पनि मुटु सम्बन्धि समस्याको बारेमा समाजलाई सुसुचित गर्न नसकेको हौं ।’

स्वास्थ्यभित्र पनि मुटु सम्बन्धि समाचार लेख्नेलाई पुरस्कृत गरिने भन्दै कोषका संरक्षक नीरजले भने–‘आगामी दिनमा कोषमा रकम बृद्धि गरि पुरस्कार राशी बढाउँदै लैजानेमा गौतम परिवार सकारात्मक छ ।’

अक्षय कोष स्थापना कार्यक्रममा बोल्दै महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले भने–‘प्राप्त अक्षय कोषको रकम मुद्वतीमा राखिने छ । यसबाट आउने ब्याजलाई पुरस्कारको रुपमा प्रदान गरिने छ ।’ कोष स्थापना गर्न महासंघलाई छनोट गरेको प्रति धन्यबाद दिदै महासंघ अध्यक्ष भण्डारीले भने–‘आगामी दिनमा कोषको रकममा पनि बृद्धि गर्न आग्रह गर्छु ।’

अध्यक्ष भण्डारीले भने–‘बाँकेमा क्रियाशिल पत्रकारहरुका हकहित र उनीहरुलाई प्रोत्साहन प्रदान गर्न महासंघ सधैं कटिबद्ध छ । निकट भविष्यमा महासंघले ५ लाखको अक्षय कोष स्थापना गरि ५० हजार रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार प्रदान गर्नेछौं । यो अहिलेसम्मकै जिल्लाको ठूलो राशीको पुरस्कार हुनेछ ।’

महासंघ अध्यक्ष भण्डारीले अगाडी थपे–‘महासंघले प्रदान गर्ने हरेक पुरस्कार, कार्यक्रमहरुको एकएक हिसाबकिताब पारदर्शीरुपमा राखी अघि बढ्छ, यसअघि पनि महासंघले केही पत्रकारिता पुरस्कारका लागि कोष स्थापना गरेको थियो ।’

उनले भने–‘म अघिका अध्यक्षहरुबाट स्थापना गरिएका कतिपय अक्षय कोषको कुनै लेखाजोखा भेटिएन, भेटिएका कोषको रकम समेत दुरुपयोग भएको पाइयो ।’

पारदर्शीता, जवाफदेहिता र सबैको महासंघ हो भन्ने आत्मबोध गराउन अहिलेको नेतृत्व अघि बढिरहेको बताउँदै अध्यक्ष भण्डारीले भने –‘अबको डेढ दुई महिनाभित्र महासंघले स्थापना गरेको हरेक कोषको विवरण लिई त्यसलाई अगाडी बढाउनेछ । यस्तै हिनामिना र अपारदर्शीता नहोस् भन्ने हेतुले आज शुभारम्भ भएको कोषमा महासंघ अध्यक्ष र कोषका संरक्षक नीरजको संयुक्त हस्ताक्षरमा कोष सञ्चालन गरिनेछ ।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष एवंम बाँके शाखा पूर्व अध्यक्ष शुक्रऋषि चौलागाईले कोषको स्थापना हुनुले महासंघप्रतिको विश्वास बढाउने काम गरेको बताए ।

‘स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना भएसंगै स्वास्थ्य क्षेत्रमा सचेतना मात्र बृद्धि हुदैन महासंघलाई सबैले विश्वास गर्छन भन्ने सन्देश प्रवाह भएको छ । महासंघसंग जोडिन अन्य दाताहरुलाई समेत उत्प्रेरणा दिएकोछ’ महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चौलागाईले भने ।

उनले आफू महासंघ बाँकेको पुर्व अध्यक्ष हुदाँ स्थापना भएका र हालसम्म स्थापना कोषको रकमबाट कोष बनाउने व्यक्तिहरुको जन्मदिन, पुण्यतिथी लगायतका अवसरकै बेला पुरस्कार बितरण गर्नुपर्ने महासंघलाई सुझाव दिए ।

अक्षय कोष शुभारम्भ कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस चौतारी बाँकेका नवनिर्वाचित अध्यक्ष दुर्गा रोकाय, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष समिरमान श्रेष्ठ, प्रेस सेन्टरका केन्द्रिय सदस्य सिराज खान लगायतले कोष स्थापना गर्नु आफैमा उत्कृष्ठ कार्य भएको भन्दै पुरस्कार स्थापनासंगै वितरण कार्यलाई नियमित गरिनुपर्ने धारणा राखे ।