विद्यार्थीलाई कोभिड खोप दिन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्दै सरकार


विद्यार्थीलाई कोभिड खोप दिन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्दै सरकार

नेपालगन्ज ४ माघ : कोरोना भाइरस संक्रमणको दर ह्वात्तै बढेसंगै सरकारले खोप अभियानलाई तिव्रता दिन केही दिनका लागि विद्यालय खोल्ने तयारी गरेकोछ । कोरोना भाइरस संक्रमणका कारण पुष मसान्तदेखि बन्द गरिएका देशभरका विद्यालय ५ दिनका लागि खोल्ने भएकोछ ।

आगामी माघ १६ देखि २० गतेसम्मका लागि विद्यालयहरूमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्न विद्यालय खोल्न लागिएको हो । मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह मन्त्रालयमा कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय भएको छ । त्यो समयमा हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौँ,’ गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख, सहसचिव प्रदीप कोइरालाले भने, ‘सम्बन्धित मन्त्रालयले सूचना जारी गर्छन् र कार्यान्वयनमा जान्छ ।’

त्यस्तै, विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बैठकले हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउन पर्ने व्यवस्था गर्न भनेको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्ने व्यवस्था मिलाउन भनिनेछ ।

यसअघि शिक्षा मन्त्रालयले माघ १५ सम्म भर्चुअल माध्यमबाट पठनपाठन गराउन भनेको थियो । सोही अनुसार विद्यालयहरूले भर्चुअल कक्षा सञ्चालन गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जनामा कोरोना पुष्टि भएकोछ । नेपालमा ओमिक्रोन संक्रमण देखिएपछि हालसम्म सबै भन्दा बढिा संक्रमित भेटिएको तथ्यांक हो ।