जेष्ठ नागरिकलाई धमाधम न्यानो सामाग्री वितरण


जेष्ठ नागरिकलाई धमाधम न्यानो सामाग्री वितरण

मिना केसी

डुडुवा (बाँके) ६ माघ : डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत सम्पुर्ण जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेकोछ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्तासंगै वितरण गरिरहेको हो ।

गाउँपालिकाको वडा नम्बर–१ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यावनप्रास र सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो । गाउँपालिकाले गाउँ टोलबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८।०७९ को पहिलो र दोस्रो त्रेमासिक साउनदेखि पुससम्मको भत्ता वितरण भईरहेको छ ।

बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिकहरुलाई एक–एक वटा बलान्केट र च्यावनप्रास वितरण गरि घरैसम्म पुर्याउने गरिएको छ । डुडुवा गाउँपालिका वडा नम्बर–१ चौफेरीका ९५ वर्षिय नन्कइ अहिरलाई न्यानो सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले अहिले चिसो मौसममा यो न्यानो बलांकेटले मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको अध्यक्ष चौधरीले बताउँदै भने –‘अब डुडुवाका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था आउने छैन ।’
गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताए ।

बिहीबारसम्म एक हजार एक सय जनालाई उक्त कम्बल वितरण गरिएको छ । वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय लगायतले सामाग्री हस्तान्तरण गरे । वितरणको कार्यमा गाउँपालिकाका कर्मचारी, शिक्षक लगायतका सहयोगीहरु खटिएका छन् ।