नेपालगन्ज ७ माघ : कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमका बीच सरकारले बुस्टर डोज लगाइरहेकोछ । यसका साथसाथै कोभिड खोप अभियानलाई पनि तीव्ररुपमा अघि सारेकोछ । यसबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको छ ।
अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको मन्त्रालयले जनाएकोछ ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार पहिला जुन खोप लगाएका छौँ, त्यही खोप लगाउन सिफारिस गरिएकोछ । एउटा खोप लगाएकोमा अर्को मिसाउने सिफारिस गरिएको भने छैन ।
उनका अनुसार कोभिशिल्ड र अस्ट्राजेनेका खोपको बनावट एउटै हो । त्यसैले अस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाउँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन । तर, कोभिशिल्ड वा अस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस नगरेको उनले बताए ।
सहप्रवक्ता अधिकारीका अनुसार भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुनसक्छ । त्यसले शरीरभित्र अरु प्रतिक्रिया जनाउन सक्छ । त्यसैले सबै जनालाई जे खोप पहिला लगाएका छौँ, त्यही खोप नै अतिरिक्त मात्राका रुपमा लगाउनुपर्ने हुन्छ ।
कतिपय ब्यक्तिले आफूखुशी र अरुको भनाइका आधारमा फरक–फरक खोपको डोज लगाएको बुझिन आएपछि स्वास्थ्य मन्त्रालयले यस्तो बताएको हो ।