कोभिड ‘रेड जोन’ बाँके : सक्रिय संक्रमित ५७८ पुग्यो

‘राप्तीसोनारी फैलियो कोरोना’


कोभिड ‘रेड जोन’ बाँके : सक्रिय संक्रमित ५७८ पुग्यो

नेपालगन्ज ७ माघ : कोरोना भाइरस संक्रमणको दोस्रो लहरको उतर्राद्धमा रहेका बेला बाँकेलाई रेड जोनमा राखिएकोछ । कोरोनाको रेड जोनमा परेको बाँकेमा ५ सय ७८ सक्रिय संक्रमित रहेकाछन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टामा एक सय ७१ नमुना परीक्षण गर्दा थप ११६ जनामा कोरोना पुष्टि भएको हो । बिहीबार पनि बाँकेमा १०७ जनामा कोरोना पुष्टि भएको थियो ।

केन्द्रका अनुसार भेरी अस्पतालको प्रयोगशालामा ९२ जनाको नमुना जाँच गर्दा ६९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५८ जनाको नमुना जाँच गर्दा ३६ जना र बागेश्वरी ल्यावमा २१ नमुना जाँच गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९० जना छन् । यसरी संक्रमित हुनेहरु नेपालगन्ज र कोहलपुरका बढिछन् । शुक्रबार पुरुषको तुलनामा महिलाको संख्या बढी छ । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय ७८ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

आज संक्रमण पुष्टि भएका संक्रमितसहित बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ९ सय ९० पुगेको छ । यस्तै शुक्रबार थप १९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको छ ।

यसैबीच, बाँकेको राप्तीसोनारी गाउँपालिकामा कोरोना संक्रमण दर दिनहुँ बढ्दै गएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार शुक्रबार मात्रै गाउँपालिका कार्यालयमा कार्यरत २ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै राप्तीसोनारी–४ स्थित वडा कार्यालयमा कार्यरत ३ जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । राप्तीसोनारी–६ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत २ जना कर्मचारीलाई समेत संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य शाखामा कार्यरत सुरेश शर्माका अनुसार राप्तीसोनारी अस्पताल बैजापुरमा दैनिक ५–७ जनामा कोरोना पुष्टी भइरहेको छ ।

‘ज्वरो, रुघाखोकी लगायत लक्षण भएका बिरामी गाउँगाउँमा छन्, केही त अस्पतालमा आएर जचाँउने काम गरिरहेका छन्, तर अधिकांशले स्वास्थ्य जाँच नै गराएका छैनन्,’ शर्माले भने ‘सबै जनाले स्वास्थ्य जाँच गराउने हो भने धेरै जना संक्रमित फेला पर्न सक्छन् ।’

गाउँपालिका र वडा कार्यालयमा कार्यरत अन्य धेरै कर्मचारीलाई पनि कोरोना संक्रमण भएको हुन सक्ने उनको अनुमान छ ।