नेपालगन्ज ८ माघ : चीनबाट २० लाख वटा सिरिन्ज(सुई) नेपाल आइपुगेकोछ । कोरोना भाइरस विरुद्धको खोप लगाउन आवश्यक पर्ने २० लाख सिरिन्ज शनिबार चीनबाट नेपाल आइपुगेको हो ।
चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको उक्त २० लाख सिरिन्ज चिनियाँ प्रतिनिधीले नेपाली प्रतिनिधीलाई हस्तान्तरण गरे । यसअघि नेपाल सरकारले ४० लाख डोज खोप चीनबाट किनेको थियो भने १८ लाख डोज खोप अनुदानमा पाइसकेको छ ।
स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाले नेपाल आइसकेको सिरिन्ज टेकु स्थित भण्डारणमा शनिबार राति नै राखिने जानकारी दिए ।
उनले अबको एक सातामा थप ५० लाख भन्दा बढी सिरिन्ज आइपुग्ने पनि जानकारी दिए ।
नेपालमा कोभिड विरुद्धको खोप ७० लाखभन्दा बढी स्टकमा रहेको समयमा सिरिन्ज भने २० लाख हाराहारीमा मात्र छ । शनिबार आएको र अबको एक सातामा थप सिरिन्ज आइपुग्ने भएकाले खोप अभियान प्रभावित नहुने स्वास्थ्य विभागले जनाएकोछ ।