मनाङ ८ माघ : मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ ।
कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि कोरोना संक्रमणविरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रूपमा बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए ।
उनका अनुसार यसअघि १२ देखि १८ वर्षमुनिका बालबालिकालाई मोडर्ना खोप लगाइएकामा दोस्रो मात्राको सो खोप पनि जिल्लामा आइसकेको छ । प्रमुख आचार्यले बुधबार सदरमुकाम चामेस्थित रण दल गुल्ममा नेपाली सेना र सशस्त्र प्रहरी तथा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बुस्टर खोप लगाइएको बताए ।
माघ ६ गते जिल्ला अस्पतालमा सार्वजनिक सेवामा खटिने व्यक्तिलाई बुस्टर खोप लगाइएको थियो ।
हिमपातका बीच मनाङमा बुस्टर खोप अभियान सञ्चालन भइरहेको छ । नासोँ गाउँपालिकामा तोकिएका केन्द्रमार्फत माघ ७ गते लक्षित सबै वर्गका व्यक्तिलाई बुस्टर डोज खोप लगाइएको जनाइएको छ ।
माघ १० गते चामे गाउँपालिकामा, माघ २० गते मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर डोज खोप लगाइने स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । बढी चिसोका कारण नार्पाभूमि गाउँपालिकामा भने समय तोक्न सकिएको छैन ।
जाडोका कारण नार्पाभूमिवासी जिल्लामा नरहेकाले पनि समय तोक्न नसकिएको हो । ‘नार्पाभूमिवासी फागुन महिनाको दोस्रो साता मात्रै जिल्ला फर्कने भएकाले उनीहरू फर्किनासाथ बुस्टर डोज खोप लगाउने व्यवस्था गरिएको छ,’ आचार्यले भने ।
मनाङ सबैभन्दा पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । वि.सं. २०७७ माघ महिनामा नै १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका सबैलाई भने खोप लगाइसकिएको छैन । हिउँदमा चिसोका कारण जिल्ला बाहिर बसाइँ जाने भएकाले बालबालिकालाई खोप लगाउन नसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताए ।
जिल्लाका तीन स्थानीय तहका १२ देखि १८ वर्षमुनिका बालबालिकाले मोडर्नाको पहिलो डोज खोप लगाएका थिए । तर, नार्पाभूमि र माथिल्लो मनाङका बालबालिकाले भने मोडर्ना खोप लगाउने मौका पाएनन् । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई बुस्टर डोज लगाइसकेपछि दोस्रो मात्रा लगाउने तयारी गरिएको उनले जानकारी दिए ।
हिउँदयामको अत्यधिक चिसो र हिमपातका कारण स्थानीय नागरिकसँगै त्यहाँका बालबालिका बेँसी झरेकाले त्यहाँ मोडर्ना खोप अभियान प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । -रासस