नेपालगन्ज १० माघ : कोरोना भाइरस संक्रमणकाबीच बन्द भएका देशभरका क्याम्पसमा अनलाईन कक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले निर्देशन दिएकोछ ।
त्रिभुवन विश्व विद्यालयले आईतबार एक सूचना जारी गर्दै त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले कोरोना संक्रमण बढेकाले हरेक क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो ।
यसका लागि सोमबार (आज) अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्ने सूचनामा उल्लेख छ ।
टियुको सूचना अनुसार देशभरका सबै क्याम्पसले भोली माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ ।
अनलाइन कक्षा व्यवस्थित गर्न हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।
साथै, भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिपलगायत क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने सूचनामा उल्लेख छ । अनलाइन कक्षा व्यवस्थित भए नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति पनि बन्ने त्रिविले जनाएको छ ।