नेपालगन्ज १० माघ : विश्व स्वास्थ्य संगठनले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड –१९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने बताएकोछ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक हान्स क्लुगले यस्तो विश्वास ब्यक्त गरेका हुन् ।
‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने –‘मार्चसम्म ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुनेछन् ।’
सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने ।
अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ ।
यता नेपालमा कोरोना भाइरस संक्रमण दर बढेकोछ । यतिमात्र होइन हिजो आईतबार एकैपटक २८ जनामा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भेटिएसंगै नेपालमा ओमिक्रोन संक्रमित संख्या ५५ पुगेकोछ ।