छाङ्गरुका सुरक्षाकर्मी हिउँ पगालेर पानी खान बाध्य


छाङ्गरुका सुरक्षाकर्मी हिउँ पगालेर पानी खान बाध्य

File Photo

दार्चुला १४ माघ : जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनु परेको छ । एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनु परेको बताएका छन् ।

‘सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन’, ती सुरक्षाकर्मीले भने,‘हिउँ पगालेर पानी खाएर बसेका छौँ, पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ, पानीको पाइप पूरै वरफ बनेको छ, पानी खाने विकल्प नभएपछि हिउँ पगालेर पानी बनाउँदै पिउँछौँ ।’

चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनु परेको छ । अहिले यो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एकजना चौकीदारमात्रै छन् । पहिल्यैकै हिउँ पग्लिएको थिएन, थप हिउँ परेपछि जाडो थप बढेको छ । गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ ।

अहिले सशस्त्र प्रहरी बसेको गागाबाट छाङ्गरुसम्म जानै मुस्किलको अवस्था आएको बताइएको छ । यस क्षेत्रमा गत वर्षदेखि सशस्त्र प्रहरी बस्न थालेको हो । गत वर्ष पनि यो क्षेत्रमा सशस्त्र प्रहरीले हिउँ पगालेर पानीको प्रयोग गर्नुपरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्लाको अपिहिमाल, नौगाड, मार्मा, दुहूँ, व्यास र मालिकार्जुन गाउँपालिकाको उच्च भू–भागमा भारी हिमपात भएको छ ।

राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा लामो समयपछि भारी हिमपात भएको छ । मालिकार्जुनको मन्दिर क्षेत्रमा परेको हिउँको फोटो अधिकांशले सामाजिक सञ्जालमा शेयर गरेका छन् । स्थानीय गणेशसिंह धामीका अनुसार मालिकार्जुन क्षेत्रको सडक तथा मन्दिर क्षेत्र वरपर हिउँ जमेको छ ।

यस्तै नौगाड क्षेत्रमा पनि भारी हिमपात भएको छ । नौगाडको सिप्टी, इयरकोट, दल्लेखलगायतका क्षेत्रमा भारी हिमपात भएको सन्तोषसिंह ठगुन्नाले बताए । हिमपातका कारण अहिले यो क्षेत्रको सडकमा गाडी चलाउनसमेत समस्या भएको छ । सडक हिलाम्ये र चिप्लो भएको छ ।

अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी बजार क्षेत्रसम्म भारी हिमपात भएको छ । हिउँका कारण विद्यालय ढाकिएका छन् । खण्डेश्वरीभन्दा माथिल्लो बस्तीमा एक फिट बढी हिउँ जमेको स्थानीयवासी पोखरसिंह रोकायाले जानकारी दिए । यस क्षेत्रमा स्थानीयवासीलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ । स्थानीयवासीले हिउँ पगालेर पानी खानुपर्ने अवस्था आएको उनले बताए । -रासस