१२ देखि १७ वर्षका बालबालिकालाई लगाइने
नेपालगन्ज १५ माघ : कोरोना भाइरस विरुद्धको मोर्डना खोपको थप डोज (मात्रा) नेपालगन्ज आइपुगेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य शाखा विभाग अन्र्तगत आपूर्ती व्यवस्था महाशाखाको रेफ्रिजेरेटर भ्यानबाट उक्त खोप शनिबार नेपालगन्ज आइपुगेको हो ।
बाँके जिल्लाका १२ देखि १७ वर्षसममका बालबालिकालाई लक्षित गरि ६८ हजार ६ सय ४० डोज उक्त खोप नेपालगन्ज आएको हो ।
कोरोना विरुद्धको खोप नेपालगन्ज आएसंगै स्वास्थ्य कार्यालय बाँकेले आगामी माघ १९ देखि बाँकेका १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकलपर्शन नरेश श्रेष्ठनरेश जानकारी दिए ।
‘१२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउनको लागि आज बाँके ६८ हजार ६ सय ४० डोज मोर्डना खोप आइपुगेको छ ।’ श्रेष्ठले अगाडी भने–‘अब यहि माघ १९ गते बाट १२–१७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई स्थानीय तह स्वास्थ्य शाखामार्फत खोप सेवा प्रदान गरिनेछ । त्यसका लागि बिद्यालय तथा सो उमेर समुहका बालबालिकाका र उनका अभिभाबकहरुले आ–आफ्ना स्थानीय तहका स्वास्थ्य शाखा र वडाका स्वास्थ्य संस्थाहरुमा सम्पर्क राख्नहुन अनुरोध छ ।’
यसैबीच स्वास्थ्य कार्यालय बाँकेले कोरोना भाइरस विरुद्धको खोपको थप मात्रा ‘बुष्टर’ लगाइरहेकोछ । बाँकेका ८ वटै पालिकामा रहेका खोप केन्द्रबाट कोभिड खोपको थप मात्रा ‘बुष्टर’ हिजो शुक्रबारदेखि लगाउन थालेको हो ।
खोप अभियान अन्र्तगत ६० वर्षदेखि माथिका र दीर्घ रोगीहरुलाई लक्षित गरि माघ १४ र १५ गते दुई दिनका लागि स्वास्थ्य कार्यालय बाँकेले कोभिड–१९ विरुद्धको खोपको बुष्टर मात्रा बाँकेका सबै पालिकामा लगाइरहेको छ ।
बुष्टर खोप अन्र्तगत कोभिसिल्ड र भेरोसिल खोप लगाइनेछ । खोपको उपलब्धताको आधारमा प्राथमिकता निर्धारण गरि चरणबद्ध बुष्टर खोप प्रदान गरिरहेको स्वास्थ्य कार्यालयले जनाएकोछ ।
गत बैशाख १ गतेदेखि असार मसान्तसम्म पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाएको ६ महिना अवधि पुगेकालाई उक्त खोप प्रदान गरिनेछ । यसका लागि खोप कार्ड वा त्यसको फोटोकपी अनिवार्य उपलब्ध गराउनुपर्ने हुन्छ ।
बाँकेमा पहिलो चरणको बुष्टर खोप अभियान यही माघ २ गतेबाट जारी छ । साथै प्रथम मात्राका लागि भेरोसिल खोप नलगाउन समेत स्वास्थ्य कार्यालयले आग्रह गरेकोछ ।