नेपालगन्ज १५ माघ : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा शनिबार एकैपटक ९० जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् ।
कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि बाँकेमा एकैपटक कोरोना संक्रमित ४९ जना महिला र ४१ जना पुरुष गरि ९० जना डिस्चार्ज भएका हुन् । हालसम्म बाँकेबाट ८ हजार ४६ महिला र १० हजार ५९९ पुरुष गरि कुल १८ हजार ६ सय ४५ जना डिस्चार्ज भएका छन् ।
शनिबार नै जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ७७ जना संक्रमित थपिएका छन् ।
बाँकेको तीन वटा प्रयोगशालामा गरिएको १३५ नमुना परीक्षणका क्रममा कुल ७७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ५६ जनाको नमुना परीक्षण गर्दा ३० जनामा, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोलहपुरको प्रयोगशालामा ५१ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा र बागेश्वरी ल्याबमा २८ जनाको नमुना परीक्षण गर्दा १४ जना गरि कुल ७७ जनामा कोरोना पुष्टि भएको हो । यसमा बाँकेका २७ महिला र २३ पुरुष गरि कुल ५० जना संक्रमित रहेकाछन् ।
यस्तै सीमानाका जमुनाहमा आज गरिएको कुल २७५ जनाको एन्टिजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना पुष्टि भएकोछ । हाल बाँकेको अस्पतालमा २ जना सिकिस्त, ३३ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेकोछ ।
भेरी अस्पतालमा २६ महिला र १० पुरुष गरि ३६ जना र होम आइसोलेसनमा ३८८ महिला र ४७४ पुरुष गरि ८६२ जना रहेका छन् भने यसमा बाँके बाहिरका २१ जना गरि कुल ८ सय ९८ जना सक्रिय संक्रमित रहेकाछन् ।