बाँकेमा थपिए ५५ जना संक्रमित, अस्पताल भर्ना भएका अधिकांशले कोभिड खोप नलगाएका


बाँकेमा थपिए ५५ जना संक्रमित, अस्पताल भर्ना भएका अधिकांशले कोभिड खोप नलगाएका

नेपालगन्ज १६ माघ : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ३६ र एन्टिजेन परीक्षणबाट १९ गरी थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा प्रयोगशालामा ७९ जनाको नमुना जाँच्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा अस्पतालको प्रयोगशालामा २२ जनाको नमुना जाँच्दा १४ जनामा, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ३७ जनाको नमुना जाँच्दा १६ जनामा र बागेश्वरी ल्यावमा २० जनाको नमुना जाँच्दा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसरी संक्रमित देखिनेमा बाँकेका १६ महिला र ८ पुरुष गरि २४ जना तथा बाँके बाहिरका २३ महिला र १३ पुरुष गरि ३६ जना रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै नेपाल –भारत सीमानाका जमुनाहमा २४९ जनाको एन्टिजेन जाँच गर्दा १९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ६ सय १८ पुगेको छ । यस्तै थप ७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ७१६ पुगेको छ ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८३५ रहेको छ । भेरी अस्पतालको कोभिड वार्डमा ३७ जना उपचाररत रहेकाछन् । जसमध्ये तीन जना सिकिस्त, एकजनाको भेन्टिलेटरमा र ३३ जना मध्यम खाले विरामीको उपचार भइरहेकोछ ।

यसैबीच, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार भेरी अस्पतालमा भर्ना हुने संक्रमितहरु मध्ये अधिकांशले कोरोना विरुद्धको कुनैपनि खोप नलगाएको पाइएको बताए ।

केन्द्रका फोकल पर्सन ओलीका अनुसार भेरीको कोभिड वार्डमा अहिले ३७ जना विरामी छन् । ती मध्ये २६ जनाले कुनै पनि खोप लगाएका छैनन् । सिकिस्त अवस्थाका ३ जना नै खोप नलगाएका छन् । मध्यम ३४ जना मध्ये २३ जनाले पनि कुनै खोप नलगाएको पाइएको छ ।

कोरोनाको यो तेस्रो लहरमा अस्पताल भर्ना हुने संख्या न्यून रहेको भएपनि संक्रमित भएर आउनेहरुले कोरोना विरुद्धको खोप नलगाएको पाइएको हो । बाँकेमा हालसम्म ८४ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् । दुबै मात्रा लगाउने ५५ प्रतिशत छन् ।