नेपालगन्ज १६ माघ : कोरोना भाइरस संक्रमणको तेस्रो लहरको उत्तरार्धमा एकैपटक देशभर ठूलो संख्यामा संक्रमितको मृत्यु भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ह्वात्तै संक्रमित दर घटेपनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढेको हो । यो हालसम्मकै सबै भन्दा बढि संक्रमितको एकैपटक मृत्यु भएको तथ्यांक हो ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ३२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिएकी छन् ।
उनका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आईतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ । त्यस्तै माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।
यसैबीच, देशभर लगातार कोरोना संक्रमित भेटिने तथ्यांक उतारचढाव भइरहेका बेला पछिल्लो २४ घण्टा कोरोनाका संक्रमित ह्वात्तै घटेको पाइएकोछ ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनामा र दुई हजार ८८३ एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी कुल तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित छन् भने ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।