File Photo
नेपालगन्ज १७ माघ : कोभिड महामारी तीव्र रुपमा फैलिँदा सबैभन्दा बढी खोप नलगाएका मानिसहरु संक्रमित भइरहेकाछन् । दिनहुँ गरिने स्वास्थ्य जाँचका क्रममा कोरोना विरुद्धको कुनै न कुनै खोप लगाएका भन्दा कुनै पनि खोप नलगाएका ब्यक्तिहरु बढि संक्रमित हुने गरेका हुन् । संक्रमित ती ब्यक्तिहरु धमाधम अस्पताल भर्ना हुनेक्रम समेत बढेकोछ । यतिमात्र होइन यसरी संक्रमित हुनेहरुमा स्वास्थ्य अवस्था जटिल समेत बन्दै गएकोछ ।
यहि माघ १२ गते भेरी अस्पतालको कोभिड वार्डमा उपचारका क्रममा कालिकोट जिल्लाको शुभकालिका–५ का १६ वर्षीय बालकको मृत्यु भयो । उनले कोरोना विरुद्धको कुनै पनि खोप नलगाएको जिल्ला कोभिड–१९ संकट व्यवस्थाप केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
ओलीका अनुसार ती बालक बाख्रा चराउन गएको बेला लडेर घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । उपचारका क्रममा उनलाई माघ ४ गते कोरोना पुष्टि भयो । त्यसको भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएपनि स्वास्थ्यमा सुधार नभएपछि उनको मृत्यु भयो ।
कोरोना भाइरस संक्रमण विरुद्धको कुनै पनि खोप नलगाएका ती बालकको मृत्युले सबै भन्दा बढि खोप नलगाएका ब्यक्तिमा संक्रमण जोखिम हुनुका साथै उनीहरुको स्वास्थ्य अवस्था जटिल हुनसक्ने पुष्टि गरेकोछ ।
बाँकेमा दिनहुँ स्वास्थ्य जाँच गरिन्छ । सीमानाका जमुनाहमा एन्टिजेन र बाँकेका तीन वटा प्रयोगशालाबाट पीसिआर नमुना जाँच भइरहेकोछ । यसरी स्वास्थ्य जाँच गर्दा बढिजसो संक्रमित कोरोना विरुद्धको कुनै पनि खोप नलगाएको पाइनेगरेको केन्द्रका फोकल पर्शन ओली बताउँछन् ।
उनका अनुसार भेरी अस्पतालमा आईतबार बेलुकासम्म कुल ३७ जना संक्रमित भर्ना भएकाछन् । भेरीको कोभिड वार्डमा भर्ना भएका ती सबै संक्रमितहरु मध्ये अधिकांशले कोरोना विरुद्धको कुनैपनि खोप नलगाएको पाइएको छ ।
केन्द्रका फोकल पर्सन ओलीले भने –‘आईतबार बेलुकासम्म भेरीको कोभिड वार्डमा ३७ जना विरामी छन् । ती मध्ये २६ जनाले कुनै पनि खोप लगाएका छैनन् । सिकिस्त अवस्थाका ३ जनाको उपचार भइरहेको । ती तीनै जनाले पनि कोभिडको कुनै पनि खोप लगाएका छैनन् ।’ उनले अगाडी थपे–‘अस्पतालमा भर्ना भएका अन्य मध्यम ३४ जना मध्ये २३ जनाले पनि कुनै खोप नलगाएको पाइएको छ ।’
कोरोनाको यो तेस्रो लहरमा बाँकेको अस्पतालमा भर्ना हुने संख्या न्यून रहेको भएपनि संक्रमित भएर आउनेहरुले कोरोना विरुद्धको खोप नलगाएको पाइएको हो । बाँकेमा हालसम्म ८४ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् । दुबै मात्रा लगाउने ५५ प्रतिशत छन् ।
फोकल पर्शन ओलीका अनुसार कोभिड खोप नै नलगाएकाहरु संक्रमित भएर भर्ना हुनेक्रम बढ्दोछ । अझ कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसंगै बाँकेका ५ जनाको ज्यान गइसकेकोछ । यसमा पनि अधिकाशंले कोरोना विरुद्धको खोप नलगाएको पाइएको उनले सुनाए ।
‘मृत्यु हुनेमा प्रायजसो सबै खोप नलगाएका नै छन्,’ उनी भन्छन्,‘खोप लगाएका संक्रमितहरू उपचार गर्न आएमा पनि तिनीहरूको स्वास्थ्य अवस्था गाह्रो भएको हुदैन । संक्रमण पुष्टि भएमा पनि सामान्य उपचार गरेर ठिक हुने गरेका छन् ।’
अहिले मौसमी रुघाखोकी लाग्ने समय भएको र ओमिक्रोन भेरियन्ट संक्रमणको लक्षण पनि मौसमी रुघाखोकीसँग मिल्दोजुल्दो भएका कारण अधिकांश मानिसले परीक्षण नै नगराएका उनी बताउँछन् ।
‘कोरोना परीक्षण गरिएकामध्ये ५० प्रतिशत संक्रमण पुष्टि हुनुले धेरै मानिसहरु संक्रमित भइसकेको देखाउँछ । त्यसमा पनि कोरोना विरुद्धको खोप नलगाएकाहरुको संख्या बढ्दोछ । केहीले रुघाखोकी ठानेर परीक्षण पनि गरेका छैनन् । थोरै मानिसहरु मात्रै परीक्षणको दायरामा आएका छन् ।
गत वर्ष कोरोना महामारी फैलिँदा नेपालमा डेल्टा भेरियन्ट सक्रिय थियो र यसले धेरैको स्वास्थ्यमा जटिलता पनि ल्याएको थियो । त्यो बेला देशमै सबैभन्दा बढि बाँकेमा कोरोनाको असर रहेको थियो । कोरोनाको हटस्पट बनेको बाँके पछिल्लो समय स्वास्थ्य मन्त्रालयले कोभिड रेड जोनमा राखेकोछ ।
डेल्टाको तुलनामा ओमिक्रोन बढी संक्रामक भएपनि जटिलता भने कम भएको पाइएको छ । ओमिक्रोन जति छिटो संक्रमण फैलिने क्षमता राखेको छ, त्यही गतिमा संक्रमणदर घट्दै जाने गरेको विभिन्न देशका तथ्यांकले देखाएका छन् । दक्षिण अफ्रिका, बेलायतलगायत राष्ट्रको अवस्थालाई हेर्दा पनि ओमिक्रोन एकदम छिटो गतिमा उत्कर्षमा पुग्ने र त्यति नै छिटो तल झरेको देखिन्छ ।