नेपालगन्ज १८ माघ : जिल्ला प्रशासन कार्यालय बाँकेले माघ मसान्तसम्म जिल्लाका सबै शैक्षिक संस्था सञ्चालनमा रोक लगाएकोछ ।
प्रशासनले मङ्गलबार एक सूचना जारी गर्दै माघ मसान्तसम्म जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न रोक लगाएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीद्वारा जारी उक्त सूचनामा जिल्लामा कोरोना संक्रमण फैलिने क्रम यथावत रहेकोले शैक्षिक संस्था र भिडभाड हुने क्षेत्रमा यस्तो बन्देज लगाइएको छ ।
माघ १४ गते कोभिड–१९ व्यवस्थापन केन्द्रको निर्णय र माघ १६ गते गृह मन्त्रालयको परिपत्र अनुसार देशमा कोरोना जोखिम कायम रहीरहेकाले माघ मसान्तसम्म शैक्षिक संस्था खोल्ने र भिडभाडजन्य कार्य नगर्न आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी खत्रीले सार्वजनिक गरेको उक्त सूचनामा बाँकेमा माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाईएको उल्लेख छ ।
यस्तै सिनेमा घर, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके, हाटबजारमा समेत रोक लगाईएको छ ।
कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यसअघि सरकारले पुष अन्तिम सातादेखि माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो ।
विद्यालय स्तर तथा सर्वसाधरणका लागि सञ्चालन भएको खोप अभियान निर्वाध रुपमा सञ्चालन गर्न खोपको आपूर्ती सहज बनाई विद्यालयहरुमा खोप कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्न र गराउन उक्त सूचनामा उल्लेखछ ।
*सच्चाइएको ।