देशभरका विद्यालय फागुन १ बाट खुल्ने

स्वास्थ्य मापदण्ड पालना गर्दै सिनेमाघर, जीमखाना, दोहोरी साँझ पनि खुल्ने


देशभरका विद्यालय फागुन १ बाट खुल्ने

नेपालगन्ज २३ माघ : आगामी फागुन १ गतेदेखि देशभरका विद्यालय खोलिने भएकाछन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आगामी फागुन १ गतेबाट देशभरका विद्यालय खोल्न सरकारलाई सिफारिस गरेको हो ।

फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन भन्दै सरकालाई सीसीएमसीसीले सिफारिस गरेको छ । सीसीएमसीसीको आईतबारको बैठकले विद्यालय खोल्ने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको हो । कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि देशभरका विद्यालय बन्द छन् ।

पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।

यस्तै काठमाण्डौं उपत्यकाका यातायातका साधनमा लगाइएको जोरबिजोर हटाउन समेत सीसीएमसीले सिफारिस गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । सीसीएमसीको आईतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै जोरबिजोर हटाउन सिफारिस गरेको हो ।

सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर भने अघिल्लो हप्ता हटाइए पनि ट्याक्सी र निजी सवारीमा जोरबिजोर कायम छ । अब सीसीएमसीको सिफारिस अनुसार निर्णय गर्न उपत्यकाका तीनवटै जिल्लाका सीडीओको बैठक बसेर निर्णय गरिनेछ ।

यस्तै कोभिडका कारण बन्द भएका देशभरका डान्सबार, दोहोरी साँझ लगायतका रात्रीकालिन व्यवसाय राति १० बजेसम्म खोल्न पाउने गरि सञ्चालन गर्न सिफारिस गरेको छ ।

सिसीएमसीले फागुन १ देखि मात्रै ती व्यवसाय सञ्चालन गर्न पाउने गरी निर्णय गर्न सरकारलाई सिफारिस गरेको हो ।

कोरोना संक्रमण बढेपछि बन्द भएका जीमखाना, सिनेमा हल, स्वीमिङ पुलजस्ता व्यवसाय फागुन १ गतेदेखि सञ्चालन गर्नका लागि सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

व्यवसाय सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्ने र सोको अनुगमन गर्ने व्यवस्था मिलाउन पनि सिफारिस गरिएको उनले बताइन् ।