जुम्लाः पारासिटामोल र जीवनजलको अभाव


जुम्लाः पारासिटामोल र जीवनजलको अभाव

जुम्ला–जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजल अभाव रहेको पाइएको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो ।

स्थानीय विन बुढाका अनुसार झाडापखालाको सिजनमा जीवनजल समेत स्वास्थ्यचौकीमा उपलब्ध नहुनुले समस्या भएकोछ । उनले भने, ‘स्वास्थ्यचौकीमा बिरामी औषधि लिनका लागि आउने गरे पनि उनीहरुले औषधी पाउने गरेका छैनन् । स्वास्थ्यचौकीमा न त औषधि पाइन्छ न त नियमित स्वास्थ्यकर्मी नै आउने गरेका छन् । उनले भने–जसका कारण बिरामीले सास्ती भोग्नु परेकोछ ।

स्वास्थ्यचौकीका अहेव गोविन्द भण्डारीका अनुसार पटक–पटक औषधि शून्य मौज्दात रहने गरेको छ । गाउँपालिकाले समयमा औषधि खरीद नगर्ने र समयमा स्वास्थ्यचौकीमा नपठाउँदा जीवनजलसमेत अभाव रहेको उनले बताए ।

उनका अनुसार आइरन चक्की चालू आर्थिकको जेठ अन्तिम सातासम्म तीन महिना जति शून्य मौज्दात रहेको थियो भने कोटिम बच्चा र किशोरावस्थामा प्रयोग गर्ने झण्डै छ महिना जति शून्य मौज्दात थियो । यस्तै पारासिटामोल चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म दुई हजार ५ सय ट्याब्लेट मात्र आएकाले अपुग भएको अहेव भण्डारीले बताँउछन् । यस्तै स्वास्थ्य चौकीमा गाँउपालिकाको लापरबाहीका कारण औषधी तथा परिवार नियोजनका अस्थायी साधन कण्डम, पिल्स र डिपो पनि पर्याप्त मात्रामा आउने गरेको छैन । कण्डम चालू आवको जेठ तेस्रो सातासम्म गरी छ महिना जति शून्य मौज्दात रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष मनवीर बुढाका अनुसार अहिले स्थानीय सरकारले पर्याप्त मात्रामा औषधि पु¥याउन नसकेको स्वीकार गरे । उनले भने –‘स्थानीय तहमा कर्मचारी अभाव, समायोजनको प्रभावले गर्दा पनि समयमा औषधि खरीदको काम नभएर स्वास्थ्य संस्थामा समयमा औषधि पुग्न नसकेको हो । आगामी दिनमा औषधि र नियमित स्वास्थ्यकर्मी उपस्थितिको व्यवस्थापन गरिने उनले प्रतिबद्धता जनाए ।