स्थानीय सरकारसँग प्रसूतिगृह माग


स्थानीय सरकारसँग प्रसूतिगृह माग

जुम्ला:जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँकी विसुदा बुढा गत वर्ष तीन घण्टा टाढा पैदल दूरीमा रहेको हाँडसिञ्जा बर्थिङ सेन्टरमा प्रसूतिका लागि लैजाँदा–लैजाँदै बाटोमै सुत्केरी भइन् । त्यसैगरी दुई वर्षअघि सोही गाउँकी रमा बुढाको पनि सुत्केरी हुन नसकेर उनको घरमै मृत्यु भयो ।

सुत्केरी गराउने दक्ष जनशक्ति र प्रसूतिगृह नजिक नभएका कारण टाढाको प्रसूतिगृहमा लैजाँदा–लैजाँदै बाटोमै सुत्केरी हुने र सुत्केरी हुन नसकेर घरमै मृत्यु हुने गरेको स्थानीय विन बुढाले बताए । उनले भने, ‘यहाँ सडक, यातायातको पहुँच छैन, सुत्केरी गराउनका लागि बोकेर लैजानुपर्ने बाध्यता छ ।’

भर्खर कच्ची सडक गाउँमा पुगेको छ । त्यो पनि वर्षा सिजनमा बन्द हुनेगर्छ । यातायात र प्रसुती गृह टाढा भएकै कारण सो क्षेत्रका स्थानीय सुत्केरी हुने गर्भवती महिलाको ज्यान जोगाउन निकै गाह्रो हुने गरेको छ ।

स्वास्थ्यसम्बन्धि जटिलता समाधान र सुरक्षित सुत्केरीका लागि यसअघि पनि पटक–पटक प्रसूतिगृहको माग गरिएको थियो । तर, प्रसूतिगृहको स्थापनाका लागि स्थानीयले माग राख्दै आए पनि यसको सुनुवाइ नभएको बुढाको गुनासो छ । ‘अहिलेको स्थानीय सरकारसँग पनि माग गरेका थियौँ, दुई वर्ष बित्यो सुनुवाइ भएको छैन’, उनले भने ।

Kanti Aarogya Hospital Nepalgunj

प्रसूतिगृहको अभावले यसक्षेत्रका गर्भवती महिला घरमै सुत्केरी गराउन बाध्य हुनेगरेकाछन् । भने कतिपयले गर्भावस्थामा गरिने जाँच पनि गराउँदैनन् । अधिकांश गर्भवती महिला घरमै सुडेनी अर्थात् महिला स्वयंसेविकाको भरमा सुत्केरी हुने गरेका छन् । घरमा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई मात्र बाध्यताले बोकेरै भए पनि तीन घण्टा टाढा दूरीमा रहेको हाँडसिञ्जा प्रसूतिगृहमा लैजाने गरेको बुढाले बताए ।

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष मनवीर बुढाका अनुसार यसै चालू आवको असार मसान्तभित्र प्रसूतिगृह स्थापना गरी सेवा विस्तार गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘प्रसूतिगृहमा चाहिने आवश्यक सामग्रीका लागि गाउँपालिकाले दुई लाख बजेट विनियोजन गरेकोछ । आवश्यक सामग्री खरीद प्रक्रियामा रहेको उनले जनाए । कनकासुन्दरी गाउँपालिकाका आठ वडामा चार स्वास्थ्यचौकी र तीन वटामात्र बर्थिङ सेन्टर रहेका छन् । यस गाउँपालिकामा १२ हजार ९ सय ७७ जनसङ्ख्या रहेको छ ।