कोरोनाकाबीच प्रणय दिवस, गिफ्ट पसल र रेष्टुरेन्टमा भ्याईनभ्याई


कोरोनाकाबीच प्रणय दिवस, गिफ्ट पसल र रेष्टुरेन्टमा भ्याईनभ्याई

नेपालगन्ज २९ माघ : प्रणय अर्थात प्रेम भन्ने शब्दले नै युवायुवतीमा एक किसिमको कौतुलहता ल्याउँछ । शरीरमा सम्वेदना प्रकट हुन्छ र एक अर्काप्रति आकर्षण पैदा गर्दछ । उनीहरू एक अर्कासँग हेलमेल गर्न चाहन्छन् र नजिक हुने प्रयत्न गर्दछन् ।

हिजोआज नेपाली बजार प्रणय दिवस अर्थात भ्यालेन्टाईन डे ले छपक्कै ढाकिसकेकोछ । कोरोना भाइरस संक्रमणको कहरले पनि प्रेम भाव प्रकट गर्ने र आफ्नो प्रेमी प्रेमीकासंगको सम्बन्ध बलियो बनाउन रोक्न सकेको छैन ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, टिकटकहरुमा उस्तै भ्यालेन्टाइ डे को उमङ्ग छाएकोछ । यस वर्षको प्रणय दिवस फागुन २ गते परेकोछ । हरेक वर्ष फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे मनाइन्छ । दिवसका अवसरमा प्रेम गरेकाहरू आफ्ना प्रेमलाई अरु दरिलो र मजबुत पार्ने प्रयास गर्दछन् र उनीहरूमध्ये कतिपयले प्रेम विवाह गर्ने फैसला पनि गर्दछन् । ती सबैका लागि भ्यालेन्टाइन डे उपुक्त समय ठान्दछन् । तर, हाम्रो समाजको अर्को पक्षले भ्यालेन्टाइन डेलाई पश्चिमी संस्कृति भनेर युवायुवतीलाई सकेसम्म त्यसबाट प्रभावित नहुन आग्रह गर्ने गरेको छ । तर, यो संस्कृति यति जोडबलका साथ आएको छ कि अब यसलाई रोक्नु त्यति सजिलो छैन । युवायुवतीले यसलाई एक महत्वपूर्ण पर्वका रूपमा लिइसकेका छन् ।

भ्यालेन्टाईन डे मनाउने पश्चिमा संस्कृति भए पनि नेपालमा यसप्रतिको आकर्षण केही वर्ष यता ह्वात्तै बढ्दै गएको छ । युवा युवतीले यस अवसरमा विभिन्न प्रतियोगितासमेत गर्छन् । तर, कोरोनाका कारण पहिलेजस्तो वातावरण नभएकाले औपचारिक रुपमा यस्ता गतिविधि हुन सकेको छैन ।

Kids Festival 2022
kanti aarogya hospital

अझ रोचक कुरा त भ्यालेनटाइन डे कसरी मनाउन थालियो भन्ने कुरा स्वयम भ्यालेनटाईन डेका लागि मरिहत्ते गर्ने किशोरकिशोरी, युवाहरुलाई थहा नै छैन । आधुनिकता र २१ औं शताब्दीको पुस्ताको हौवा दिनेहरु त्यो कुरा थाहा पाउन त्यति उत्सुकता पनि जनाउँदैनन् । उनीहरूले यो दिवसलाई फेशनका रूपमा लिने गरेका छन् र फेशनमा बहकिएर प्रेम प्रकट गर्ने अवसरका रूपमा लिने गरेका छन् । त्यसैले जानेर, नजानेर भरखरका किशोरकिशोरी पनि गिफ्ट दिन र लिन उत्सुक हुन्छन् । र पछि कस्मेटिक प्रेमको प्रभावमा पछुताउने गरेकाछन् ।

यस दिन युवायुवती एक अर्कासँग नजिक हुन र हेलमेल गर्न एकले अर्काका लागि उपहार दिने गर्दछन् । सँगै बसेर खान निम्त्याउँछन् र त्यो कोमल हृदयभित्रको भावना साटासाट गर्दछन् । ती सबै काम गर्नका लागि उनीहरू यो समाजमा अलि उकुसमुकुसको अनुभव गर्दछन् र खुल्ला र अनुकूल स्थानमा जान र बस्न मन पराउँछन् । कतिपय युवायुवती भावनामा वहेर तथा आजको दिनमा प्रेम प्रस्ताव राख्नु राम्रो हो भनेर प्रेम प्रस्ताव राख्ने गरेको पनि सुनिन्छ ।

गिफ्ट पसल र रेष्टुरेन्टमा भ्याईनभ्याई

भ्यालेन्टाईन डे नजिकिदै गर्दा केही वर्षदेखि नेपालगन्जका गिफ्ट पसलमा गिफ्ट लिन युवायुवतीको सङ्ख्या बढ्दो छ । विभिन्न डिजाईन र ब्राण्डका उपहारहरुको माग बढ्दो छ । नेपालगन्ज सहरका न्यूरोड, सदरलाईन, एकलैनी, घरबारीटोल, बागेश्वरी मन्दिर प्राङ्गणमा खुलेका गिफ्ट पसलमा युवायुवतीको विहानैदेखि भीड लागेको देखिन्छ ।

यस्तै भ्यालेन्टाईन डे लाई लक्षित गरि यस दिन नेपालगन्जका होटल तथा रेष्टुरेन्टले पनि विशेष छुटका साथ विभिन्न स्पेशल प्याकेजहरु दिने गरेकाछन् ।

केहीदिन अघि मात्रै सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै होटल, रेष्टुरेण्ट, सिनेमा हल, सपिङ्ग मल लगायत खुला गर्न पाउने बताएपछि यतीखेर रेष्टुरेन्टमा किशोर किशोरी र युवा पुस्ताहरूको उपस्थिति देख्दा यो पर्व हाम्रो समाजमा स्थापित भएको प्रष्ट हुन्छ । राजधानी काठमाडौंबाट फैलिएको यो हावा यतिवेला देशका विभिन्न सहरमा पुगिसकेको छ । अब भ्यालेन्टाईन डे सहर केन्द्रित मात्र रहने यो त दुर्गम गाँउहरुमा पनि पुगिसकेकोछ ।