बाँकेमा संक्रमण दर घटेपनि खोप लगाएकाहरु मर्नेक्रम बढ्यो


बाँकेमा संक्रमण दर घटेपनि खोप लगाएकाहरु मर्नेक्रम बढ्यो

नेपालगन्ज १ फागुन : पछिल्लो समय बाँके लगायत देशभर कोरोना संक्रमित दर ह्वात्तै घटेकोछ । संक्रमित दर मात्र घटेको छैन, निको हुने दर पनि ह्वात्तै बढेकोछ । तर, बाँकेमा लगातार तीन दिन कोरोना विरुद्धको खोप लगाएका ब्यक्तिहरुको मृत्युले नयाँ चुनौती थपिदिएकोछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्रबार, शनिबार र आईतबार गरि तीन दिन लगातार कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका तीन जना ब्यक्तिको मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचारत खजुरा, नेपालगन्ज र सुर्खेतका तीन जना संक्रमितको निधन भएकोछ । निधन हुने तीनै जना संक्रमितले कोरोना विरुद्धको खोप डोज पुरा गरेका थिए ।

बाँकेको खजुरा गाउँपालिका–२, का २३ वर्षीय युवा, नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ८४ वर्षीय बृद्ध र सुर्खेत भेरीगंगा नगरपालिका –३ का ९० वर्षीय बृद्धको उपचारका क्रममा निधन भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

माघ २७ गत भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ पाइएका खजुराका २३ वर्षीय युवा सोही दिन भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । अस्पतालमा उपचाररत ती युवाको स्वास्थ्य अवस्था जटिल बन्दा आज आईतबार बिहान मृत्यु भएको हो ।

यस्तै सुर्खेत भेरीगंगा नगरपालिकाका ९० वर्षिय बृद्धको शनिबार बेलुका पौने ७ बजे मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही माघ २० गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएको पर्सिपल्ट उनी भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआउँदा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

यसअघि शुक्रबार राती भेरी अस्पतालको सघन कक्षमा उपचाररत नेपालगन्ज बाँकेगाउँका ८४ वर्षिय बृद्धको मृत्यु भएको थियो । यही माघ १८ गते कोरोना संक्रमित भइ भोलीपल्ट भेरी अस्पतालको कोभिड वार्डमा उनी भर्ना भएका थिए ।

केन्द्रका फोकल पर्शन तेज ओलीका अनुसार मृतक तीनै जना संक्रमितले कोरोना विरुद्धको खोपको डोज पुरा गरेका थिए । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४४५ जनाको मृत्यु भएको छ । भने बाँकेका ३५१ जनाको मृत्यु भएकोछ ।

आईतबार बिहानसम्मको तथ्यांक अनुसार बाँके जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८७४ पुगेको छ । डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ४३१ पुगेको छ ।