नेपालगन्ज २ फागुनः नेपाली काँग्रेस नेपालगन्ज नगर कार्यसमितिले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएकोछ ।
नेपालगन्ज–कोहलपुर सडक विस्तार गर्ने नाममा सडक डिभिजन कार्यालय सर्वसाधरण जनतामा आतंक मच्चाइरहेको भन्दै नेपाली काँग्रेस नेपालगन्ज नगर कार्यसमितिले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।
नगर सभापति प्रशान्त विष्ट नेतृत्वको टोलीले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई भेटेर तत्काल उक्त कार्य रोक्न भन्दै ध्यानाकर्षण गराएकोछ ।
नगरसभापति विष्टका अनुसार मन्त्रीपरिषद्ले निर्णय गरेर कार्यान्वयनमा ल्याइसकेको सडकलाई पुनः संरचना भत्काउनका लागि सो सडक क्षेत्र आसपास बहालमा बसेका संघसंस्था र बैंकहरुलाई पत्राचार गर्नु अवैधानिक भएको भन्दै तत्काल रोक्न माग गरिएकोछ ।
सडक डिभिजन कार्यालयले यसअघि नेपालगन्ज–कोहलपुर सडकखण्डको ५० मिटरभित्र निर्माण गरिएका संरचना भत्काउन भन्दै सार्वजनिक सूचना समेत निकालेको थियो । यति मात्र होइन सो क्षेत्र भित्र ८०६ संरचना रहेकोले बाँके प्रशासनको समन्वयमा भत्काउने भन्दै गृह कार्य गरिरहेका बेला काँग्रेस नगरकमिटिले ध्यानाकर्षण गराएको हो ।
सडक विस्तारका नाममा वर्षेनी जनतालाई आतंकित बनाउने र करोडौंका सम्पत्ति तोडफोड गर्ने कार्य गलत भएको भन्दै सभापति विष्टले भने यसअघि नै मन्त्रीपरिषद् स्तरीय निर्णयबाट विल्ट अप एरिया (बस्ती क्षेत्र) कायम गरी त्यस क्षेत्रमा २१ देखि २५ मिटरको बीचमा बनेका संरचना नभत्काई सडक विस्तार गर्ने विषय कार्यान्वयनमा आई निर्माण कार्य सम्पन्न भइसकेको अवस्थामा सडक विभागले पुनः हचुवाको भरमा पत्राचार गरिरहेको छ ।
‘यसअघि कार्यान्वयनमा आइसकेको निर्णय विपरीत घरधनी वा जग्गाधनीका नाममा नभई घरबहालमा बस्नेहरुका नाममा पत्राचार गरेर टर्चर गर्न खोजिनु विल्कुलै गलत छ, नियम विपरीत घर खाली गर्न र भत्काउन गरिएको ताकेता फिर्ता नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौं’, सभापति विष्टले भने ।
सोक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले मन्त्रीपरिषद्ले गरिसकेको निर्णय कार्यान्वयनमा ल्याउनु आफ्नो कर्तब्य रहेको भन्दै त्यस अनुरुप नै यो विषयलाई हल गरिने आश्वासन दिए ।
‘मन्त्रीपरिषद्ले नै गरेको निर्णय रैछ, २०६९ सालमा नै निर्णय भएको रैछ, कहाँ कुन–कुन क्षेत्रलाई विल्ट अप एरिया तोेकेको छ, त्यसलाई अध्ययन गरेर त्यसै अनुसार अघि बढ्न सडक कार्यालयलाई अनुरोध गर्छु, के कति कारणले संरचना भत्काउन पत्राचार भएको रैछ, सडक विभागसंग छलफल गरेर निक्र्यौल गछौं’, उनले भने ।
एडिबीको सहयोगमा नेपालगन्ज–कोहलपुर सडक निर्माण गर्नेक्रममा यसको मापदण्ड ५० मिटर तोकिएको थियो । तर, सडक छेउछाउ रहेका जग्गाधनीले उक्त मापदण्ड स्वीकार्न चाहेनन र विवाद भयो । विवादका कारण ५० मिटरको सडक ४२ मिटरमा खुम्चियो । यद्यपी कतै–कतै ३८ मिटर छ ।
सडक डिभिजन कार्यालयले पहिलो चरणमा नेपालगन्जको नाका जमुनाहादेखि कोहलपुरसम्मको २२ किलोमिटरलाई ५० मिटरको बनाउन थालेकोछ । यसका लागि सडक डिभिजन कार्यालले स्थलगत अध्ययन गर्दै सडक मापदण्ड भित्र परेका संरचनाहरुको तथ्यांक समेत निकालेकोछ ।
थप समाचार