बिरामीले भरिन थाले अस्पताल


बिरामीले भरिन थाले अस्पताल

नेपालगन्ज : बाँकेमा अत्याधिकरुपमा गर्मी बढेको छ । उखरमाउलो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । राहातको नाममा नेपाल विद्युत प्राधिकरणको विद्युत नियमित छैन । लोडसेडिङ अन्त्य भएको भनिए तापनि दैनिक तीन चार घण्टा बत्ति गइरहेको छ ।

दिनहुँ घण्टौंसम्म बिजुली हुँदैन । औसतमा नेपालगन्जको तापक्रम ४० डिग्री माथी नै हुन्छ । छिटफुट पानी परेपनि वर्षा भएको छैन । स्थानीयबासी गर्मीले आक्रान्त बनेका छन् । गर्मी बढेसगैँ खरबुजा, काँक्रा, उखुको रस, लस्सीलगायतका पेयपदार्थको व्यापार फस्टाएको छ । गर्मीका कारण आवश्यक काम बाहेक मध्य दिउँसो सडकमा मानिसको चहलपहल पातलिएको छ । बाहिर हिँड्दा गर्मी र त्यसमा पनि ’लु’ चल्ने भएपछि सडकमा मानिसको आवतजावत कम भएको हो ।

दैनिक मजदुरी गरेर खानेहरुका लागि गर्मीयाम निकै कष्टकर बन्न पुगेको छ । प्रायजसो युवायुवती गर्मी छल्न विभिन्न पार्क, हरियाली स्थानमा पुग्ने गरेका छन् ।
अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप बढेको छ । अन्य मौसमको तुलनामा गर्मी मौसममा ५० प्रतिशतले बिरामीको संख्या वृद्धि भएको विभिन्न अस्पतालले जनाएका छन् ।

गर्मीसँगै हावाहुरी र धूलो, सडक पेटी तथा फुटपाथको खाना र फोहोर पानीका कारण बिरामीको सङख्या बढ्दै गएको चिकित्सकले बताएका छन् । गर्मी बढेसँगै बिरामी चाप पनि बढ्दै गएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ । अस्पतालका अनुसार भाइरल, झाडापखाला, रुघाखोकी, पिसाब संक्रमण, जलवियोजन लगायतका बिरामीको संख्या बढेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पतालका चिकित्सक प्रकाश गुप्ताले गर्मीसँगै वर्षायाम सुरु हुन लागेकोले सवाधानी नअपनाइए मलेरिया, डेंगुजस्ता रोगले प्रभावित पार्न सक्ने बताए ।
ओपिडी सेवाको लागि मात्र दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । यस्तै बाँकेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, बैष्णवी, वस्टेन लगायतका दर्जनबढी अस्पताल तथा निजी क्लिनिकमा पनि बिरामीको चाप उस्तै छ ।

चिकित्सकका अनुसार बाटो तथा फुटपाथको खाजा नास्ता नखाने, पानी उमालेर अथवा फिल्टर गरेर पिउने, दिसापिसाब गरिसकेपछि सावुन पानीले हात धुने, सफा सुग्घर गर्ने बानीको विकास गरेमा बिरामी हुनबाट जोगिन सकिन्छ । नेपालगन्जका अस्पतालमा प्रदेश पाँच, साविक सुदूर र कर्णाली प्रदेशका साथै भारतका विभिन्न स्थानबाट पनि दैनिक विरामी उपचारका लागि आउने गरेका छन् ।