नेपालगन्ज ४ फागुनः सरकारले भेरी अस्पताल विकास समितिको सदस्यमा विमलकुमार चन्दलाई मनोयन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दलाई हालै अस्पताल विकास समिति सदस्यको जिम्मेवारी दिएको हो ।
कोटमौला–५, सल्यान निवासी उनी नेपाल तरुण दल बाँकेका सह–सचिव पनि हुन् । नेपाल सरकार मन्त्री स्तरको यही फागुन ३ गतेको निर्णय अनुसार भेरी अस्पताल विकास समिति (गठन) आदेश २०७६ को दफा ३ को उपदफा (२) को खण्ड ‘घ’ बमोजिम अस्पताल विकास समितिको सदस्य पदमा तीन वर्ष पदावधि कायम हुने गरी मनोनयन गरिएको उल्लेख गरिएको छ ।
समिति सदस्यको जिम्मेवारी पाइसकेपछि अब आफु भेरी अस्पतालको समग्र विकासमा सक्रिय हुने उनले बताएका छन् । ‘अस्पताल विकास समिति सदस्यको जिम्मेवारी पाइसकेको छु, अब म अस्पतालको समग्र विकासमा लाग्नेछु,’ उनले भने ।
त्यसो त कोरोना महामारीको दोस्रो लहर चलेका बेला चन्दको सक्रियता अत्यधिक रुपले बढेको थियो । कोरोना संक्रमितका लागि आवश्यक पर्ने अक्सिजन लगायत स्वास्थ्य सामाग्रीको ब्यवस्थापन लगायत काममा उनी खटिएका थिए ।
भेरी अस्पताल परिसरमा बिरामी र कुरुवाका लागि २० रुपैयाँमा पेटभरी खाना खुवाउने ब्यवस्था गर्दै आएको अञ्जनी माता रसोईलाई आवश्यक सहयोग गर्ने अभियानको समेत चन्दले नेतृत्व गरेका थिए । उनको सक्रियताको उच्च मूल्यांकन गर्दै अञ्जनी माता रसोईले चन्दलाई प्रवक्ताको समेत जिम्मेवारी दिएको थियो ।