नेपालगन्ज ५ फागुनः बाँकेमा कुष्ठरोग निवारणका लागि चुनौती देखिएकोछ ।
नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ । तर, बाँकेमा कुष्ठरोगीका नयाँ विरामी भेटिनुले लक्ष्य पुरा गर्न चुनौति देखिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्लो ६ महिनामा बाँकेमा ४४ जना कुष्ठरोगका विरामी थपिएका छन् ।
चालु आर्थिक वर्ष २०७८÷०७९ को साउनदेखी पुष मसान्तसम्म जिल्लामा ४४ जना नयाँ विरामी थपिएका हुन् । गत आर्थिक वर्ष २०७७÷०७८ मा एक सय २८ जना नयाँ विरामी थपिएका थिए । यसवर्ष थपिएका नयाँ विरामीमध्ये सबैभन्दा बढी नेपालगन्जका १३, कोहलपुरका ११ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका वरीष्ठ जनस्वास्थ्य अधिकृत मानव नेपालीले जानकारी दिए ।
उनका अनुसार जानकी गाँउपालिकामा ६, नरैनापुर र बैजनाथ गाँउपालिकामा ५÷५, खजुरामा ३ र डुडुवामा १ जना नयाँ विरामी थपिएका छन् । गत ६ महिनामा राप्तीसोनारी गाँउपालिकामा कुष्ठरोगका नयाँ विरामी भेटिएको छैन ।
सरकारले स्वास्थ्य संस्थाहरुमा कुष्ठरोगको उपचार निःशुल्क गरेको छ । नेपालमा सबैभन्दा बढि कपिलवस्तु, बाँके र रुपन्देही कुष्ठरोगका विरामी भेटिएकाछन् ।