नेपालगन्ज ८ फागुन : बाँके स्वतन्त्रबासी समुहको अगुवाईमा त्रिभुवनको अर्धकदको शालिक पुर्नस्थाना गरेपछि एकाएक बाँकेको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएकोछ । नेपालगन्जस्थित त्रिभुवनचोकमा स्वर्गीय राजा त्रिभुवनको शालिक पुर्नस्थापना मात्र गरिएको छैन दुई दिनदेखि लगातार शालिक परिसरमा युवाहरुले पहरा दिइरहेकाछन् ।
शनिबार बिहान सालिक राखेका बाँके स्वतन्त्रबासी समुह र राजसंस्था समर्थित युवाले शनिबार रातभर पहरा दिए । शालिक हटाउन माथिबाट निर्देशन आएको हल्ला चलेपछि युवाहरुले शालिक परिसरमै आगो बालेर रातभर जागा बसेका थिए । त्यसैगरि आज आईतबार पनि उक्त युवाको समुह रातभर जागा बसिरहेकाछन् ।
राजसंस्था समर्थितले वीरेन्द्रचोकमा पनि सालिक राख्ने उद्घोष गरेपछि प्रहरीले शालिक राख्न नदिने भन्दै वीरेन्द्र चोकमा पहरा दिएको हो । चोकमा ठूलो संख्याका प्रहरी खटिएका छन् ।
नेपालगन्जका विभिन्न चोकको राजा र नेताहरुको नाममा नामाकरण गरेर शालिक राखिएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजाको शालिक तोडिएका थिए । नेताका शालिक भने सुरक्षित छन् । २०६२/६३ सालको जनआन्दोलनमा फालिएका राजाका शालिक पुनःस्थापना गर्ने प्रयास भइरहेको छ ।
त्रिभुवन चोकमा स्वर्गीय राजा त्रिभुवनको शालिक पुर्नस्थापना गरिएको खुसियालीमा शनिबार बेलुका दीप प्रज्वलन गरियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर एवम् राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणाको नेतृत्वमा दीपप्रज्वलन गरिएको हो ।
दीप प्रज्वलनका क्रममा विभिन्न दल सम्बद्ध नेता, राजसंस्थाका समर्थक, सर्बसाधारण लगायतको ठुलो संख्यामा उपस्थिती रहेको थियो । सो क्रममा बोल्दै मेयर राणाले स्वर्गीय राजा त्रिभुवनको शालिक हटाउने दुस्साहस नगर्न चेतावनी समेत दिएका थिए ।
राजा त्रिभुवनको शालिक पुर्नस्थापना गरिएसंगै यतिबेला आम सर्बसाधारणले शालिक पुर्नस्थापना भएकोमा खुसी ब्यक्त गर्दै सेल्फी समेत खिचिरहेका छन् ।
बाँके प्रहरीले शालिक राख्ने र हटाउने सम्बन्धमा सबै पक्षसँग छलफल चलाउने जनाएको छ ।
यसैबीच, शनिबार राजा त्रिभुवनको शालिक पुर्नस्थापना भएसंगै बाँकेका नेपाली काँग्रेस र नेकपा एमाले बाहेकका केही राजनीतिक दललाई यो कुरा पचेको छैन ।
आईतबार नेकपा माओबादी, जसपा, नेकपा एस र जनमोर्चा लगायत राजनीतिक दलको बैठक बसेर त्रिभुवन चोकमा पुर्नस्थापित गरिएको शालिक हटाउने सामुहिक निर्णय समेत गरेकाछन् । राजा त्रिभुवनको शालिक हटाउनका लागि भोली सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र दिने तयारी भएको बैठकमा सहभागि एक जना नेताले जानकारी दिए ।
त्रिभुवन चोकमा रहेका राप्रपका सहायक महामन्त्री ऋषीराज देवकोटाले जनताको माग र ईतिहास जोगाउन देशभक्त राष्ट्रबादी युवाहरु सशक्तरुपमा अघि बढ्ने बताए । उनले राजा त्रिभुवनको शालिक पुनः स्थापनाले ईतिहासको संरक्षण गरेको बताउँदै कुनै पनि बहानामा त्रिभुवन चोकमा राखिएको राजा त्रिभुवनको शालिक हटाए यसका विरुद्ध सशक्त ढंगबाट सामना गर्ने बताए ।
थप समाचार
नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक राखियो, हटाए कडा प्रतिकार गर्ने चेतावनी