जेष्ठ नागरिकका लागि अस्पताल बनाउदै डुडुवा, अध्यक्ष चौधरीले शिलान्याश गरे


जेष्ठ नागरिकका लागि अस्पताल बनाउदै डुडुवा, अध्यक्ष चौधरीले शिलान्याश गरे

डुडुवा (बाँके) ११ फागुन : डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि छुट्टै १६ शैय्याको अस्पताल सञ्चालन गर्न लागेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो ।

गाउँपालिका वडा नम्बर–२ स्थित बेतहनी स्वास्थ्य चौकी परिसरमा आठ कोठे अस्पताल भवनको आज बुधबार एक कार्यक्रमकाविच शिलान्याश गरिएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको शिलान्याश गर्दै जेष्ठ नागरिक सम्मानका लागि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी उनीहरुको निःशुल्क उपचार तथा औषधी वितरण गरिने बताए । उनले डुडुवा मै विशेषज्ञ सुविधा र प्रयोगशालामाफर्त स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास दिलाउदै घरमै सेवा प्रदान गर्ने अवधारणालाई अघि बढाएको बताए । उनले अस्पताल संचालन भएपछि विशेषज्ञ परामर्श र प्रयोगशाला जाँचका लागि बजार जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

रु ७९ लाखको लागतमा निमार्ण हुने अस्पतालमा ८–८ बेडको महिला र पुरुषका लागि छुट्टै वार्ड, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, फार्मेसी, डियुटी कक्ष, सोधपुछ कक्ष, प्रयोगशाला र शौचालयसहितको अत्याधुनिक भवनको निमार्ण हुने गाउँपालिकाका इन्जिनियर प्रकाश थापाले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

तीन महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि दीपक विल्डर्स प्रालिले कोहलपुर बाँकेले ठेक्का लिएको छ । बहुवर्षिय योजना अन्र्तगत आगामी वर्षहरुमा थप भौतिक पुर्वाधार निमार्ण गरि सेवास्तर बृद्धि गरि लैजाने योजना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

डुडुवा गाउँपालिकाले जिल्लामै स्वास्थ्य क्षेत्रमा पहिलो स्थानमा रहेको छ भने गाउँपालिकाले घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत तीन स्थानमा निःशुल्क प्रयोगशाला, नागरिक आरोग्य केन्द्र, आठ वटा स्थानमा स्वास्थ्य केन्द्रको सञ्चालन, दुई वटा एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।