पल शाहविरुद्ध जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी

‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ–फकाइ गर्दै सम्बन्ध राखेको’ जाहेरीमा उल्लेखछ


पल शाहविरुद्ध जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी

नेपालगन्ज ११ फागुन : १७ वर्षिया एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर नायक पल शाहविरुद्ध जाहेरी दर्ता गरेकी छन् । केही दिनअघि मात्र नायक पलले एउटा कुराकानीमा ती गायिकासँग आफ्नो शारीरिक सम्बन्ध रहेको स्वीकारोक्ति गरेको अडिओ समेत सार्वजनिक भएको थियो ।

ती गायिका हाल उमेरले १७ वर्षकी छिन् । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी-बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ । यसमा कडा सजायको व्यवस्था छ ।

पल र ती गायिकबीचको सम्बन्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेका छन् । यद्यपि, अझै पनि पलले स्वीकार गरेका छैनन् । उनले हिजो सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका थिए । सार्वजनिक भएको अडिओ नै ‘फेक’ हुन सक्ने उनको दाबी छ ।

यस्तै, ती गायिकाले एक महिला अधिकारकर्मीसँगको कुराकानीमा पलसँगको सम्बन्धबारे बयान गरेको अडिओ सार्वजनिक भएको थियो । पलले आफ्ना पुरुष साथीहरूले गायिकालाई उक्साएको आरोप लगाएका छन् । पलको यस्तो आरोपपछि उनीमाथि जाहेरी दिने निष्कर्षमा गायिका पुगेकी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

हिजो काठमाडौंबाट ती गायिका आफ्ना दिदी–भिनाजुसहित उनी तनहुँको दमौली पुगेकी थिइन् । राति नै जाहेरी दिने तयारी गरिए पनि प्रहरीले उनको बुबाआमाको पनि हस्ताक्षर चाहिने भनेपछि हिजो जाहेरी दर्ता भएन । आज बुबाआमासमेत आएर जाहेरीमा सनाखत गरेपछि प्रहरीमा जाहेरी दर्ता भएको हो ।

जाहेरीमा गायिकाले आफूलाई शाहले ‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ–फकाइ गर्दै सम्बन्ध राखेको’ उल्लेख गरेकी छन् । कानूनबमोजिम शाहलाई कडा सजायको माग गायिकाले गरेकी छन् । उनको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको छ । यस विषयमा तनहुँ प्रहरीले औपचारिक जानकारी दिएको छैन ।

जाहेरी दर्ता गर्नुअघि प्रहरीले गायिकाको अडिओ-भिडिओ बयानसमेत लिएको थियो ।

यसअघि पनि ती गायिकाले पलविरुद्ध जाहेरी दिन कदम चालेकी थिइन् । केहीदिन अगाडि उनी कास्की प्रहरीमा जाहेरी लिएर पुगेकी थिइन् । तर, प्रहरीले अन्तिमपटक घटना जहाँ भएको हो, त्यहीँ उजुरी गर्नुपर्ने बताएको थियो । यसबीचमा पलले गायिकालाई बिहेको आश्वासन दिएर घटना थामथुम पारेपछि उनी रोकिएकी थिइन् ।

कानूनले के भन्छ ?

अपराध संहिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई करणी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ । यस्तो अपराधमा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ । गायिकाले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन् । त्यसैले पललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना देखिएको छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिसक्ने व्यवस्था छ ।

-पीडित गायिका १८ वर्षमुनि रहेकाले उनको नाम र तस्विर सार्वजनिक गरिएको छैन । -सं.