रिप्रिटासमा फेल भएको बाँकेमा तीन थरीका औषधि खुवाइने

फागुन २८ गतेदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि कार्यक्रम हुने


रिप्रिटासमा फेल भएको बाँकेमा तीन थरीका औषधि खुवाइने

नेपालगन्ज १३ फागुन : राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धी गरिएको रिप्रिटास सर्भेका क्रममा लगातार फेल भएको बाँकेमा तीनथरिका औषधि खुवाइने भएको छ । पहिले खुवाइँदै आएको दुई थरि औषधिमा एउटा थप्ने तयारी गरिएको हो । १२ औं चरणसम्म औषधि खुवाउँदा पनि हात्तीपाइले रोग नियन्त्रणमा नआएपछि यस वर्ष बाँकेसहित पाँच जिल्लामा तीनथरि औषधि खुवाइने भएको छ ।

डीईसी र अल्वेन्डाजोलसँगै यस वर्ष आइभरमेक्टिन थपिने छ । आगामी फागुन २८ गतेदेखि १४ दिनसम्म हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम चलाउने तयारी छ ।

बाँके, दाङ, कपिलवस्तु, कैलाली, मोरङ, लमजुङ, पर्वत, बाग्लुङ, बारा र झापामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । जसमा बाँके, दाङ, कपिलवस्तु, कैलाली र मोरङमा तीनथरि औषधी सेवन गराइनेछ ।
यसअघि बाँके र दाङमा ११ पटक औषधि खुवाइएको थियो तरपनि बाँकेमा हात्तीपाइले रोग निवारण हुन सकेको छैन ।

यसका साथसाथै हात्तीपाइले रोग निवारणमा प्रभावकारी मानिएको आइभरमेक्टिन पनि नेपालमा प्रयोगमा ल्याउने तयारी गरिएकोछ । आइभरमेक्टिनले हात्तीपाइलेसँगै लुतो, झुम्रा र मलेरिया रोक्नसमेत काम गर्ने बताइएकोछ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार नेपालगन्जको कल्पत्रु होटलमा आयोजना गरेको हात्तीपाइले रोगको औषधि खुवाउने अभियानको योजना तर्जुमा गोष्ठीमा यस्तो जानकारी दिइएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस वर्ष तीनथरि औषधि खुवाउने भएकाले व्यक्तिको उचाइको आधारमा औषधिको मात्रा निर्धारण गरिनेछ । यसअघिका अभियानमा दुईथरि औषधिको मात्रा उमेरका आधारमा छुट्याइँदै आएको थियो ।

सो गोष्ठीमा यसअघि औषधी खुवाउदा स्वास्थ्य स्वयंसेविका या स्वास्थ्यकर्मीले औषधिको तथ्यांकलाई आधार बनाउँदा कभरेज देखिने गर्दा तथ्यांकमा मात्र औषधि कभरेज पाइएपछि यसवर्षदेखि औषधी खुवाउने रणनीतिमा समेत फेरबदल गरिने भएकोछ ।

महाशाखाका अनुसार नेपालका ५३ वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल भइसकेको छ । दश जिल्लामा फेल हुँदै आएको छ। फेल भएका जिल्लामा कभरेज ६५ प्रतिशत बढी देखाउने गरिन्छ । कभरेज धेरै देखाइए पनि समुदायमा रोग उस्तै छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार यसपटक स्वास्थ्यकर्मीको अगाडि नै व्यक्तिलाई उपस्थित गराएर औषधि खाएपछि मात्र उक्त तथ्यांक दर्ता गर्नेगरि मातहतका सबैलाई जानकारी गराइनेछ । यसका लागि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवनको फम्र्याट नै परिवर्तन गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार यही फागुन पहिलो साता बाँकेको नेपालगन्ज र कोहलपुरमा गरिएको रिप्रिटास सर्भेमा बाँके लगातार चौथोपटक फेल भएको हो । उक्त रिप्रिटास सर्भेका क्रममा नेपालगन्जका ९ र कोहलपुरका १८ जना गरि २७ जनाको केश पोजेटिभ आएको थियो ।

‘पहिला बुथ र घरघरमा गएर औषधि खुवाइन्थ्यो । अब मान्छे भीडभाड हुने ठाउँमा गएर औषधि खुवाइनेछ’ स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले बताए ।

सेतोखरीसंग कुरा गर्दै उनले भने–‘विगत दुई वर्षको भन्दा अवस्था तल झरेपनि पुनः रिप्रिटास सर्भेमा बाँके फेल भयो ।’ उनले अगाडी थपे–‘यो परजीवी करिब छ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार छ वर्ष नियमित औषधि सेवन गर्नैपर्छ ।’

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहका अनुसार ५–६ वर्षसम्म लगातार औषधी सेवन गरे हात्तिपाइले रोग नियन्त्रण गर्न सकिन्छ ।

हात्तिपाईले रोग भए नभएको एकिन गर्न र आम औषधी सेवन कार्यक्रमको प्रभावकारिताका लागि रिप्रिटास सर्भे गरिएको हो । योसंगै बाँके पुनः हात्तिपाईले र आम औषधी सेवनको विषयमा फेल भएको छ ।

२०७८ मा गरिएको सर्वेक्षणमा बाँकेको रझेनामा ४४ प्रतिशतले मात्रै पाँच वर्षसम्म नियमित औषधि खाएको पाइएको थियो । १७ प्रतिशतले अहिलेसम्म एकपटक पनि औषधि खाएका छैनन् ।

नेपालका ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि औषधि सेवन गराउने कार्य सुरु गरेको हो । सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले लिएपनि बाँकेमा सञ्चालन गरिएको ११ औं पटकको आम औषधी कार्यक्रम फेल भइसकेकोछ ।

बाँकेका राजनीतिक दल, सरोकारवाला र सर्वसाधरणमै आम औषधीका विषयमा ठूलो भ्रम यथावत रहेका कारण बाँके पुनः फेल भएको हो ।

उक्त गोष्ठीमा प्रदेश स्वास्थ्यमन्त्री इन्द्रजीत थारु, इपिडिमियोलोजी तथा रोग निवारण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दास, प्रदेश स्वास्थ्य निर्देशक डाक्टर विनोदकुमार गिरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाह, बाँकेका स्थानीय तह तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।

थप समाचार

हात्तीपाईलेको रिप्रिटास सर्भेमा बाँके लगातार चौथोपटक फेल