जबानको अधिबेशनः

१६४ फर्म नविकरण भएनन्


जबानको अधिबेशनः

नेपालगन्ज : नयाँ नेतृत्व चयनका लागि नेपाल जडिबुटी व्यवसायी संघको अधिवेशन शनिबारदेखि नेपालगन्जमा शुरू भएको छ । जडिबुटी व्यवसायीहरूमा नयाँ नेतृत्व चयन गर्ने उत्साहसँगै व्यवसायीक चुनौतीहरु समाधान कसरी गर्ने भन्ने चिन्ता पनि देखिएको छ । बन तथा वाताबरण मन्त्री शक्ति बस्नेतले शनिबार उक्त अधिवेशनको उद्घाटन गरेका छन् ।


नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास चलिरहेको संघका महासचिव टंकप्रसाद शर्माले बताए । उनका अनुसार आईतबारसम्म सहमतिको प्रयास चल्ने छ । यदि सहमतिमा नेतृत्व चयन हुन नसकेको अवस्थामा आईतबार दिउँसोबाट निर्वाचनको प्रक्रिया अघि बढाईने उनी बताउँछन् । उनका अनुसार बाँकेमा रहेको संघमा अहिले तीन सय ५० जना सदस्य छन् । तर, अधिवेशनको पुर्वसन्ध्या अर्थात शनिबार साँझसम्म एक सय ८६ वटा व्यक्ति वा फर्मले मात्र सदस्यता नविकरण गरेका छन् ।

जडिबुटीको कारोबार गर्दै आईरहेको भएपनि एक सय ६४ जना सदस्यले आफ्नो सदस्यता नविकरण गरेका छैनन् । उनले भने ‘नविकरण नगर्ने संस्था वा व्यक्तिलाई आइतबार हुने निर्वाचनमा मतदानबाट बञ्चित गरिने छ ।’ जडिबुटी उत्पादनको केन्द्र प्रदेश ५ र ७ का ६ वटा जिल्लाबाट वार्षिक अर्बौं रुपैयाँको जडिबुटी किनबेच हुने गरेको छ । नेपाल जडिबुटी व्यवसाय संघ (जवान) को तथ्यांकअनुसार यी जिल्लाबाट मात्रै वार्षिक दुई अर्बभन्दा बढीको जडिबुटीको कारोबार हुने गरेको हो ।


संघका महासचिव शर्माका अनुसार गत आर्थिक वर्ष ०७३/७४ मा कुुल ४५ प्रजातिका जडिबुटीको दुई अर्ब दुई करोड ५३ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । परिमाणका हिसाबले पनि ०७३/७४ मा ३९ लाख ३० हजार ६ किलो जडिबुटी उत्पादन भएको जवानले जनाएको छ । आव ०७२/७३ मा ४४ प्रजातिका ४५ लाख १४ हजार ५ सय ४ किलो जडिबुटी उत्पादन तथा बिक्री भएको थियो ।
आर्थिक वर्ष २०७४/०७५ मा २७ लाख ५४ हजार २ सय किलोग्राम जडिबुटी निकासी भएको संघका कार्यालय प्रमुख पुष्कर खरेलले बताए । उनले भने ‘जडिबुटीको निर्यातको अवस्था खस्किएको देखिन्छ ।’


प्रदेश पाँचका बाँके, दाङ र प्युठान तथा प्रदेश सातका कैलाली, कञ्चनपुर र सुर्खेतमा नेपाल जडिबुटी उत्पादक व्यवसाय संघले औषधी तथा सुगन्धित बिरुवाको क्षेत्रमा नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयन परियोजना लागू गरेको छ । सोही अनुसार उक्त परिमाणमा जडिबुटी उत्पादन भएको हो । यी जिल्लामा रिठा, तेजपात, टिमुर, काउलो बोक्रा, पाखनवेद, जटामसी मार्क, पदमचाल, चुत्रो बोक्रा, कुटकी, विषलगायत जडिबुटी उत्पादन हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सन्धि, सम्झौता तथा जडिबुटीमैत्री कानुनको अभावमा जडिबुटी उत्पादन तथा बिक्री–वितरण चुनौतीपूर्ण रहेको संघका केन्द्रीय अध्यक्ष याकुब अली अन्सारी बताउँछन् । उनले भने ‘जडिबुटीखेतीबाट रोजगारीका अवसर सिर्जना हुने तथा उत्पादन वृद्धि गरी जडिबुटीको देश भनेर पहिचान गराउन सकिने सम्भावना रहेको छ ।’


जडिबुटीको विकासका लगि प्रदेश सरकार वा केन्द्रले जडिबुटी क्षेत्रका प्राविधिक जनशक्ति उत्पादन गर्न नसक्नु अर्को चुनौती भएको अन्सारीले बताए । जडिबुटी उद्योग स्थापनाका लागि सहुलियत, साइटिसबाहेकका सुगन्धित तेलको निर्वाध कारोबार तथा किसान, व्यापारी, उत्पादक, संकलक र उद्योगीका लागि सहुलियत ऋणसँगै बिमाको व्यवस्था गर्ने हो भने नेपालले जडिबुटीबाट ठूलो लाभ लिनसक्ने उनको भनाइ छ ।
बजारको मागमा आधारित तथा उच्च मूल्य जाने जडिबुटीजन्य वस्तुहरुको उत्पादनमा विविधीकरणका साथै गुणात्मक वस्तु उत्पादन र दिगो बजार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म बजार सम्बन्ध निर्माण पनि अपरिहार्य रहेको अन्सारी बताउँछन् । नेपालबाट
भारत तथा तेस्रो मुलुक निकासी हुने जडिबुटीलाई विभिन्न बाहाना गर्दै रोक लगाउदा व्यावसायी मर्कामा परेका छन् । ट्राञ्जिट परमिटको कारण अनेकौ झमेला थोपार्दै आएको भारतले पछिल्लो समय ‘सुचीकृत’ भन्दा अन्य जडिबुटी निर्यातमा रोक लगाएपछि लाखौंको जडिबुटी नेपालगन्ज मै थन्किएको छ ।