स्वास्थ्यमा मेडिकलको चरम लापरबाही

म्याद नाघेका औषधि बिक्री गर्दै


स्वास्थ्यमा मेडिकलको चरम लापरबाही

नेपालगन्ज: नेपालगन्जका औषधि ताथ एग्रोभेटबाट म्याद गुज्रिएका औषधी विक्रि भइरहेको पाइएकोछ । औषधि व्यवस्था विभागले शुक्रवार नेपालगन्जमा बजार अनुगमन गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।

बजार अनुगमनका क्रममा नेपालगन्जका पाँचवटा औषधी पसलमा गरिएको निरीक्षणका क्रममा अधिकांश मेडिकल पसलले म्याद गुज्रिएका औषधी बेप्रवाह बिक्रिवितरण गर्दै आएको पाएकोछ ।

यसरी म्याद नाघेको र नियम विपरीत मेडिकल सञ्चालन गरेको पाइएपछि नेपालगन्ज को अष्टाङ आयुर्वेद प्रालिलाई निलम्बन गरिएकोछ । औषधि व्यवस्था विभाग नेपालगन्जले अष्टाङ आर्युवेद प्रालिलाई आगामी ३० दिनका लागि निलम्बन गर्दै सिज गरिएको जनाएकोछ ।

आयुर्वेदमा दर्ता भएको उक्त पसलले एलोप्याथिक औषधिहरु नियम विपरित बिक्री गरिरहेको र नेपालमा दर्ता नभएका औषधिहरुसमेत सञ्चय गरि राखेको पाइएकाले कारबाही स्वरुप निलम्बन गरिएको विभागका फार्मेसी अधिकृत दिपेन्द्रकुमार साहले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै निरीक्षणका क्रममा चितवन एग्रोभेटले नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गर्नुका साथै म्याद नाघेका औषधि राखेको पाइएको छ । भेटेनरी औषधि कारोबारमा दर्ता रहेको उक्त पसलमा कृषिको बीउबिजनका साथै कीटनाशक विषादि समेत बिक्री वितरण गर्दै आएको पाइएकोले आवश्यक कारबाहीका लागि कार्यालयमा बोलाइएको फार्मेसी अधिकृत साहले जानकारी दिए ।

साहको नेतृत्वमा फार्मेसी सुपरभाइजर यादवप्रसाद ढकाल र अनिश ढोडरीको टोलीले गरेको अनुगमनमा नेपालगन्जको हरिओम मेडिकलमा म्याद नाघेको औषधि राखेको पाइएको छ । उचित तापक्रममा राख्नुपर्ने औषधि फ्रिजमा नराखेकाले औषधिको गुणस्तरमा प्रतिकूल प्रभाव पार्ने भएको हुँदा उक्त मेडिकलका सञ्चालकलाई कारबाहीका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको फार्मेसी अधिकृत साहले बताए ।

बजार अनुगमनका क्रममा नेपालगन्जकै उपकार मेडिकल हल र कुलाशिस मेडिकल हलमा समेत अनुगमन गरिएको थियो । दुबै मेडिकल नियमानुसार सञ्चान भएको पाइएको औषधि व्यवस्था विभाग नेपालगन्जले जनाएको छ । नियम विपरीत सञ्चालन र म्याद नाघेको औषधि बिक्रीवितरण गर्ने पसलमाथि विभागीय निर्णयानुसार निलम्बनसम्मको कारबाही गरिने फार्मेसी अधिकृत साहले बताए ।